धरान: धरान १४ स्थित पिण्डेश्वर विद्यापिठले नयाँ व्यवसायिक भवन(सटरसहित) बनाउने भएपछि जग खन्ने कार्य भइरहदा पुरात्तात्विक महत्वको पुराना सिक्काहरु भेटिएको छ ।

डेढ सय भन्दा बढी संख्यामा भेटिएको ती सिक्काहरु डेढ सय बर्ष भन्दा पुराना छन् । ती सिक्काहरु निर्माण मजदुरहरुले हिजो बुधबार भेटेका हुन् । उक्त सिक्कालाई आज बिहिबार १४ नम्बर वडा कार्यालय, पिण्डेश्वर बाबाधाम समिति, क्याम्पस प्रशासनको रोहबरमा मुचुल्का उठाएर अस्थायी प्रहरी चौकी विजयपुरको जिम्मा लगाइएको छ । वडा नम्बर १४ का अध्यक्ष कृष्णप्रसाद भटराईका अनुसार तामा जस्तै धातुको १६० थान सिक्का भेटिएको छ । ती सिक्कामा भएको अक्षर कतिपय बुझिदैनन् भने एउटा तत्कालिन राजा सुरेन्द्र साहको पालाको भएको लेखिएको प्रष्ट देखिन्छ । साथै, एउटा इष्ट इण्डिया कम्पनीको पालाको पनि सिक्का छ । यस्तै, एउटा वाला भेटिएको छ भने ९ वटा ढुंगाको टुक्रा जस्तो पनि भेटिएको छ । उनले विभागको क्षेत्रीय कार्यालय धनकुटाबाट कर्मचारी आएपछि जिम्मा लगाइने पनि जानकारी दिए ।

sikka

पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीका अनुसार सिक्काहरु भेटिएको स्थानमा उहिल्यै गौशाला रहेको थियो । त्यहाँ अहिले पनि गौशालाको भग्नावशेषहरु छन् । पिण्डेश्वर मन्दिरमा राज्यबाट हण्डी खाएर बस्ने ७० जना जोगीहरुलाई लालनपालन गर्न गौशाला राखिएको थियो । ‘यो गौशालाको क्षेत्र हो, भवन पनि गौशालाकै छ । इट्टाको जगहरु छ, वरको रुपमा पनि भग्नावशेष छ,’वनेपालीले भने,‘यही हिजो सिक्का भेटिएको हो, आज मुचुल्का उठाएर प्रहरीको जिम्मा लगाएका छौं ।’

निर्माण कार्य रोकियो

क्याम्पसको जग खन्दा पुरात्तात्विक महत्वको सिक्काहरु भेटिएपछि पुरात्तत्व विभागले तत्काल जग खन्ने कार्य रोक्न आग्रह गरेको छ । विभागको आग्रह पछि जग खन्ने कार्य रोकिएको वडाअध्यक्ष भटराईले बताए । ‘यस्तो पुरात्तात्विक महत्वको ठाउँहरुको संरक्षण गरेर सरकारले नै उत्खनन गर्नुपर्छ,’उनले भने ।