धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन नदिन धरानको विभिन्न ११ स्थानमा हेल्थ डेस्क राखिने भएको छ भने नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गराउन सबै निकाय लागिपर्ने भएको छ ।

आज बिहान धरान उपमहानगरपालिकामा भएको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । मेयर तिलक राईसहित इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको उपस्थितिमा भएको बैठकले सरकारको निर्णयको आधिकारिक पत्र पाएपछि बन्द गराउने भनिएको ठाउँहरुमा अनुगमन गरेर बन्द गराउने निर्णय पनि गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले भने,‘सरकारको निर्णय जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयमार्फत पाएपछि के के बन्द गराउने भनेको छ, तयो बन्द गराउछौं ।’

कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार सिनेमा हल, साँस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबहरु पनि ३० अप्रिल २०२० सम्म बन्द गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार धरानमा पनि सबै बन्द गराइने डिएसपी न्यौपानेले बताए । बैठकले इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्याल्य, नगरपालिका, देउराली चोक, मंगलबारे चोक, रेल्वे, १५ नम्बर वडा कार्यालयलगायत ११ स्थानमा हेल्थ डेस्क राख्ने पनि निर्णय गरेको छ ।