एजेन्सी: भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार व्यक्तिलाई मृत्युदण्ड दिइएको छ।

उनीहरूलाई आज शुक्रवार बिहान सवेरै दिल्लीको तिहाड कारागार परिसरभित्र झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो । भारतीय समयअनुसार बिहान ५ः३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइएको हो। लगत्तै त्यो कारागार प्रमुखले जाँच गर्दै उनीहरूलाई मृत घोषित गरेका थिए।

निर्भयाको आमा बुबाद्धारा धन्यवाद ज्ञापन

आफ्नी छोरीका हत्यारालाई मृत्युदण्ड दिइएपछि निर्भया नामले चिनाइएकी पीडित महिलाका आमाबुवाले थोरै सन्तोषको सास फेरेको सङ्केत दिएका छन्। उनकी आमाले सबै सहयोगीलाई धन्यवाद दिएकी छन्। 'म न्यायपालिका, सञ्चारमाध्यम, राष्ट्रपति र अरू सबैलाई धन्यवाद दिन चाहन्छु। सातवर्षदेखिको सङ्घर्षले बल्ल परिणाम दिएको छ। निर्भयालाई न्याय मिल्यो।'

ex

उनका पिताले पछिल्लो सजायले सबै भारतीय महिला सुरक्षित हुने वातावरण बनाउने आशा व्यक्त गरे। मृत्युदण्डको भारतीय महिला आयोगका सदस्य लगाएत धेरै व्यक्तिहरूले स्वागत गरेका छन्। दोषी ठहरिएका ती चार पुरुषले क्षमादानको लागि गरेको निवेदनलाई भारतीय राष्ट्रपति तथा सर्वोच्च अदालतले अस्वीकार गरिदिएका थिए।

यस्तो थियो, घटना

डिसेम्बर १६, २०१२ मा साथीसँग बसमा हिँडिरहेका बेला एक २३ वर्षीया युवतीमाथि ६ जनाले सामूहिक बलात्कार गरेका थिए। ती युवतीमाथि रडले आक्रमण गर्दै बलात्कार गरेका थिए। घटनाको ११ दिनपछि युवतीलाई सिंगापुर लगिए पनि त्यसको २ दिनपछि उनको मृत्यु भएको थियो।

निर्भयाका दोषीलाई कडा सजाय हुनुपर्ने माग राख्दै भारतभर तथा विश्वका विभिन्न मुलुकमा व्यापक विरोध प्रदर्शनसमेत भएको थियो। नयाँदिल्लीको सडकमा राज्य सरकार र केन्द्र सरकारको विरोधमा हजारौं मान्छे सडकमा उत्रिएका थिए। भारतीय कानुनले बलात्कार पीडितको नाम सार्वजनिक गर्न नदिने भएकाले ती युवतीलाई निर्भया नाम दिइएको थियो। आफ्नो अन्तिम सास रहेसम्म पीडित युवती न्यायका लागि लडिरहेको भन्दै उनलाई निर्भयाका नामले चिनाउन थालियो। निर्भया मामिलामा भएका प्रदर्शन र आन्दोलन महिला प्रतिरोधी आन्दोलनका रुपमा विश्वमै समेत चिनिएको थियो।

बलात्कार तथा आक्रमणमा बस ड्राइभरसहित अरु पाँच जनाको संलग्नता रहेको थियो। घटनाका मुख्य दोषी मानिएका राम सिंहको २०१५ को मार्चमा मुद्दा चलिरहेकै क्रममा तिहाड जेलमा मृत्यु भएको थियो। प्रहरीले राम सिंह आफै झुण्डिएर आत्महत्या गरेको बताएको थियो। ३३ वर्षीय सिंह त्यो बसका ड्राइभरसमेत भएको बताइन्छ।

त्यस्तै घटनामा संलग्न भनिएका एक व्यक्ति भने नाबालिग भएको भन्दै रिहा गरिएको छ। घटनाका बेला नाबालिग रहेको भन्दै ती व्यक्तिलाई रिहा गरिएको हो। नाबालिग रहेको भन्दै उनलाई ३ वर्ष सुधारगृहमा राखेर रिहा गरिएको हो।

त्यस्तै राम सिंहका भाइसमेत रहेका ३२ वर्षीय मुकेश सिंह, फिटनेस ट्रेनरका रुपमा काम गर्ने २५ वर्षीय विनय शर्मा, बसका सहचालक ३१ वर्षीय अक्षय कुमार र फलफुल पसल गर्ने २५ वर्षीय पवन गुप्तालाई भने शुक्रबार फाँसी दिइएको हो।