धरान: आजदेखि लामो रुटको गाडी बन्दको कारण भानुचोकमा अलपत्र परेका यात्रुहरुलाई गाडीको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको छ ।

धरान उपमहानगरपालिका, प्रहरी र यातायात व्यवसायीहरु मिलेर ५ वटा गाडीको व्यवस्था गरि यात्रुहरुलाई गन्तव्यतर्फ पठाएको हो । भोजपुरमा २ वटा गाडी, संखुवासभामा एउटा र तेह्रथुममा २ वटा गाडीको व्यवस्था गरि यात्रुहरु पठाइएको मेयर तिलक राईले जानकारी दिए । ‘हिजोको रात्री बसमा धेरै यात्रुहरु आएकोले आज अलपत्र परेछन्, त्यसैले ५ वटा गाडीको व्यवस्था गरेर पठायौं,’मेयर राईले भने ।

डिएसपी ढुण्डीराज न्यौपानेले एक जिल्लाबाट अर्को जिल्लाको यातायात नचल्ने भएपनि पहाडी जिल्लाका यात्रुहरु अलपत्र परेकोले गाडीको व्यवस्था गरेर पठाइएको बताए । ‘आज चै गाडीको व्यवस्था गरेर पठायौं, अब गाडीहरु नचल्ने भएकोले अरु यात्रुहरु नआउलान्,’डिएसपी न्यौपानेले भने,‘अत्यन्तै जोखिमको अवस्था भएकोले लामो यात्रा नगर्न म सबैलाई आग्रह गर्छु ।’