धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन आजदेखि लामो दुरीका सवारीसाधनहरु बन्द भएका छन् ।

एउटा जिल्लाबाट अर्को जिल्लामा चल्ने सवारीसाधनहरुमा सरकारले रोक लगाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा चैन १० गतेदेखि केही अवधिको लागि यस्तो घोषणा गरेका थिए । लामो दुरीको यातायातको साधनहरु रोक लागेपछि थुप्रै यात्रुहरु धरानको भानुचोकमा अलपत्र परेका छन् । उनीहरु कतिपय रात्री बसमा काठमाण्डौंबाट धरान आइपुगेका हुन् । बिहान धरानसम्म राती बसले ल्याएपछि उनीहरु पहाडतर्फ जान नपाई भानुचोकमा अलपत्र छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख एवं प्रहरी निरीक्षक अञ्जन कोइरालाले एउटा जिल्लाबाट अर्को जिल्ला जाने सवारीसाधनहरु पुर्णरुपमा रोक लगाइएको बताए । उनका अनुसार प्राइभेट गाडी वा मोटरसाइकल पनि अत्यावश्यक नभएमा जिल्लाको सिमा नाकामा रोक लगाइनेछ । ‘मुख्य कुरा कोरोना पैmलिन नदिन मानिसहरुको चहलपहल नहोस्, सकेसम्म घरभित्रै वा एकै ठाउमा बसुन् भन्ने उद्देश्य हो,’उनले भने ।

कोरोना फैलिन नदिन सरकारले हिजोदेखि अन्तर्राष्ट्रिय हवाई उडानमा पनि चैत २१ गतेसम्मलाई रोक लगाइसकेको छ भने अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा पनि बन्द गरिसकेको छ । धनकुटाको पाख्रिबासका कुलबहादुर अधिकारीले बिहानै आएपनि गाडी नपाएर धरानमै अलपत्र हुनुपरेको बताए । ट्राफिक प्रहरीका अनुसार सरकारको निर्णयअनुसार लामो दुरीको र एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारीहरुलाई रोक लगाइएको छ ।

gadi5 gadi-dharan

 gadi-vanu-chokw3