धरान: कोरोना भाइरस(कोभिड १९) को उपचारको व्यवस्थापन गर्न संघीय सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सरकारले साढे १२ करोड उपलब्ध गराएको छ ।

सरकारले उक्त रकम प्रतिष्ठानलाई भेन्टिलेटरसहित आइसियु कक्ष निर्माणको लागि उपलब्ध गराएको हो । सरकारबाट प्राप्त भएको उक्त रकमले प्रतिष्ठानले २० बेडको आइसियु कक्ष निर्माण गरिरहेको छ । आइतबार प्रतिष्ठानको निरीक्षणको लागि आएका प्रदेश एकका मुख्यमन्त्री शेधरन राईले बजेटको सहीरुपमा सदुपयोग गर्न आग्रह गरेका थिए । उनले भनेका थिए,‘संघीय सरकारबाट आएको १२ करोडको सहीरुपमा सदुपयोग होस् । वीपीलाई प्रदेश एकको महत्वपुर्ण हस्पिटल, कोरोना केन्द्रीत उपचारको केन्द्रकोरुपमा व्यवस्थित गर्नुपर्छ ।’ मुख्यमन्त्री राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले निर्माणाधिन आइसियु कक्षको निरीक्षण पनि गरेका थिए ।

cm-at-bp

हिजो मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई निर्माणाधिन आइसियु कक्ष निरीक्षण गराइदै ।

प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरुप्रसाद खनालका अनुसार सरकारबाट प्राप्त भएको बजेटले १० वटा भेन्टिलेटरसहित २० बेडको आइसियु कक्ष निर्माण भइरहेको छ । प्रतिष्ठानको किचनलाई अस्थायीरुपमा आइसियु कक्षमा परिणत गरिएको छ । त्यहाँ मोवाइल भेन्टिलेटर हुने भएकोले भविष्यमा अन्य स्थायी ठाउँमा सार्न सकिने उनले बताए । ‘२० बेडेको आइसियु बन्दैछ । त्यसमा १० वटा भेन्टिलेटर हुन्छ,’कार्यवाहक उपकुलपति डा.खनालले भने,‘फाष्ट ट्रयाकबाट चाडै काम सक्ने भनेर लागेका छौं ।’ सरकारबाट आएको साढे १२ करोडमध्ये एक करोड ८० लाख आइसियुलाई हो भने अन्य सबै भेन्टिलेटर, मनिटर, बेडलगायत सामग्रीहरुको लागि आएको हो ।