धरान: धरान उपमहानगरपालिकाले शनिबार ३ हजार अतिविपन्न परिवारको लागि विभिन्न १३ वटा वडा कार्यालयमा खाद्यान्न राहत सामग्री पठाएको छ ।

माग अत्यधिक भएपनि उपमहानगरपालिकाले भने पहिलो चरणमा ३ हजार अतिविपन्न परिवारको लागि मात्र राहत सामग्री पठाएको हो । लतग संकलन गरिएको भन्दा थोरै परिवारको लागि मात्र राहत आएपछि वडा कार्यालयहरु समस्यामा परेका छन् । राहतको लागि संकलन गरिएको लगतको अनुपतमा शनिबार दिइएको राहत सामग्री संख्या आधा भन्दा पनि कम हो । धरानको १७ वटा वडाबाट शुक्रबार साँझसम्म साढे ८ हजार संख्यामा अतिविपन्न परिवारको लगत उपमहानगरपालिकामा पुगेको थियो ।

उपमहानगरले शनिबार दिएको राहत सामग्री संख्या थोरै भएकोले बढाइदिन विभिन्न वडाका प्रतिनिधिहरुले आग्रह गरेको थियो । तर, उपमहानगरले पहिलो चरणमा ३ हजारलाई मात्र वितरण गर्ने निर्णय गरेअनुसार तयारी पनि गरेकोले संख्या बढाउन सम्भव भएन । त्यसैले कतिपय वडा कार्यालयहरुले राहत सभागृहस्थित भण्डारणबाट लगे पनि वितरण गरेनन् । केही वडाले उपमहानगरले एक परिवारको लागि दिएको राहतलाई दुई भाग गरेर वितरण गर्ने तयारी गरेको छ भने केहीले थप अतिविपन्न परिवार छनौट गरेर मात्र वितरण गर्ने जनाएको छ ।

वडा नं ६ का अध्यक्ष भुवनसिंह बस्नेतका अनुसार ८ सय २२ अतिविपन्न परिवारको लगत वडामा संकलन भएको थियो । तर, पहिलो चरणमा उपमहानगरबाट २ सय ५० पोका राहत मात्र पाएकोले थप अतिविपन्न परिवार छनौट गरेर आइतबार मात्र वितरण गरिने उनले बताए । ‘कम्तीमा ४ सय पोका भएको भए आजै गथ्र्यो । फेरि बसेर नाम पुर्नविचार गरेर मात्र विरतण गछौं,’उनले भने ।

धरानको सबैभन्दा ठुलो र धेरै जनसंख्या भएको वडा नं १५ बाट पनि अतिविपन्न परिवारको संख्या करिब १५ सय लगत संकलन भएको छ । यो वडालाई पनि शनिबार ५ सय पोका राहत मात्र दिइएको थियो । कम्तीमा एक हजार जति परिवारलाई पुग्ने गरि राहत दिन आग्रह गरेपनि नपाइएको वडा सदस्य ज्ञानेन्द्र बस्नेतले बताए । ‘पछि प्राथमिकता दिने वचन पाएका छौं, आज जे जति पायौं, त्यसैलाई व्यवस्थापन गछौं,’उनले भने ।

उपमेयर मञ्जु भण्डारी सुवेदीले पहिलो चरणमा अतिविपन्न एवं छाक टार्न नै समस्या भएको परिवारको लागि राहत दिइएको बताइन् । वडाहरुबाट धेरै नामावली आएपनि अतिविपन्न र खानै नपाउने अवस्थाका परिवारलाई छनौट गरेर वडाहरुले वितरण गर्नुपर्ने उनले बताइन् । ‘जो साच्चैको अतिविपन्न हो, जसलाई खानै नपाउने अवस्था छ, त्यस्तो परिवारलाई छानेर दिनुपर्ने हुन्छ,’उनले भनिन्,‘गरिबले खान नपाउने अवस्था नहोस्, कोही छुट्नु भएको छ भने पनि हेल्प डेस्कमा सम्पर्क गराइदिन अनुरोध छ ।’

उपमहानगरका अनुसार शनिबार वडा नं २ मा ५० परिवार, वडा नं ४ मा १७० परिवार, वडा ५ मा ३ सय परिवार, वडा ६ मा २५० परिवारलाई राहत पठाइएको छ भने वडा ८ मा ३ सय, वडा ९ मा ८० परिवार, वडा ११ मा ३५० परिवार, वडा १३ मा १५०, वडा १५ मा ५ सय, वडा १६ मा ३ सय, वडा १७ मा ३ सय, वडा १९ मा १५० र वडा २० मा १ सय अतिविपन्न परिवारलाई राहत पठाइएको छ । 

IMG_9948.psd