एजेन्सी: कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या लगातार बढ्न थालेपछि ब्रिटेनका अस्पतालहरू सघन उपचार कक्षका शैय्याहरू थप्न दिनरात काम गरिरहेका छन्।

तर बीबीसीसँग कुरा गर्दै एक सघन उपचार कक्ष चिकित्सकले देशमा केही स्वास्थ्यकर्मीहरूले सहयोग र सुरक्षासाधनको अभावमा भोग्नुपरेको नमीठो पक्ष देखाएका छन्। केही स्वास्थ्यकर्मीहरूले उनीहरूको अस्पतालमा देखिएको उपकरण अभावका बारेमा बताएका छन् तर मिडियासँग कुरा नगर्न चेतावनी दिइएका कारण उनीहरू खुल्न सकेका छैनन्।

मिडल्यान्ड्सका एक चिकित्सकले भने यस विषयमा बोल्न चाहिन् र बीबीसीले उनको परिचय गोप्य राख्न उनको नाम परिवर्तन गरेको छ। डा.रोबर्ट्सले कोरोनाभाइरस सङ्क्रमितका कारण भरिएको सघन उपचार कक्ष भएको एक अस्पतालको बारेमा बताइन्। त्यहाँ सबै शल्यक्रियाहरू सारिएको छ भने क्यान्सर क्लिनिक समेत रद्द गरिएको छ। त्यहाँ यथेष्ट कर्मचारी छैनन्, सघन उपचारका लागि शैय्या छैन र सामान्य एन्टिबायोटिक्स् औषधि र भेन्टिलेटरको पनि अभाव छ।

यो सबै कारणका बीच एप्रिलको १४-१५ तिर यूकेका कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा उच्चविन्दुमा पुग्ने अनुमान गरिएको छ र अस्पतालका कर्मचारीहरूले त्यसले अहिले नै दबाव महसुस गरिरहेका छन्। तर डा. रोबर्ट्सले बताएका यी कुनै पनि कुरा त्यति डरलाग्दो छैन जति प्रत्येक दिन १३ घण्टा सिकिस्त बिरामीहरू हेरिरहेका स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षा उपकरण पीपीईको अभावमा प्लास्टिकका फोहोर राख्ने झोला, प्लास्टिकका एप्रन र सापटी लिइएका स्की खेल्ने चस्मा प्रयोग गर्नुपरेको अवस्था छ।

आमनागरिकहरूलाई दुई मिटरको दूरी राखेर सामाजिक दूरी राख्न अनुरोध गरिएको बेला यूकेका न्याश्नल हेल्थ सर्भिस एनएचएसका कर्मचारीहरूलाई भने कोरोनाभाइरस सङ्क्रमणको आशङ्का लागेका मानिसहरूलाई २० सेन्टिमिटर परबाट जाँच्न भनिएको छ र त्यो पनि बिना सुरक्षा उपकरण। डा. रोबर्ट्स भन्छिन्,आउने दिनको डरमा अस्पतालका कतिपय विभागहरूले भएका पीपीईहरू पनि लुकाउन थालेका छन्। 'कोरोनाभाइरसको सङ्क्रमणको सबैभन्दा जोखिममा रहेका सघन उपचार कक्षका नर्सहरूलाई कुनै सुरक्षा प्रदान नगर्ने टोपी लगाएर काम गर्न भनिएको छ। यो गलत हो। त्यसकारण हामी प्लास्टिकका झोला वा एप्रनले आफ्नो टाउको छोप्न बाध्य छौँ।'