धरान: भारतबाट हिड्दै धरान आएको भनिएका सब्जी व्यापारीलाई कोरोना भाइरस संक्रमण भएको कुनै लक्षण नदेखिएको उनलाई उपचारमा वीपी प्रतिष्ठान लैजाने जनप्रतिनिधिले जानकारी दिएका छन् ।

दुई दिनअघि भारतबाट आएका ती सब्जी व्यापारीबारे धरान १५, भानुमार्गका स्थानीयबासिन्दाको चिन्ता र चासो पछि उनलाई आज वीपी प्रतिष्ठान लगिएको थियो । उनलाई धरान १३ का वडाअध्यक्ष नेत्र काफ्ले आफैले एम्बुलेन्समा हालेर वीपी प्रतिष्ठानको कोरोना हेल्प डेस्कमा पुर्याएका थिए । अध्यक्ष काफ्लेका अनुसार ती व्यक्तिलाई ज्वरो, रुघाखोकी केही पनि देखिएको छैन । उनलाई क्वारेन्टाइनमा लगेर राख्नुपर्ने भएपनि स्वाब लिनुपर्ने भएपछि आफुले वीपी प्रतिष्ठानमा नै छोडेर फर्किएको उनले बताए । ‘ज्वरो, रुखा खोकी केही पनि देखिएन । हिडेर आएकोले खुट्टा देखेर त्यसको औषधी खाएको चै देखियो,’अध्यक्ष काफ्लेले भने ।

अध्यक्ष काफ्लेका अनुसार लकडाउन लम्बिदै गएपछि यता व्यापार चौपट भयो भन्दै उनी भारतबाट नै हिड्दै धरान आएको बताएका छन् । उनी दुई दिनअघि रातभर हिडेर धरान आएको र त्यही कारणले खुट्टा दुखेपछि औषधी लिएको बताएका छन् । कृषि बजार पुग्दा सञ्चालक समितिले घरमा क्वारेन्टाइनमा बस्न भनेर पठाए पनि चोकतिर निस्किएको र स्थानीयले विरोध गरेका थिए । ‘त्यसपछि सालाको घरतिर गएछ, त्यहाँ पनि शुरुमा छैन भन्दै थियो । तर, सालोको घरमै भेटेर वीपी लग्यौं,’अध्यक्ष काफ्लेले भने । ती सब्जी व्यापारीको घर धरान १५ मा पनि छ । उनको पुख्यौली घर भारतको विहार हो । उनले नेपालको पनि नागरिकता लिइसकेका छन् । 

विदेशबाट आएकालाई सरकारले अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्न भनेको छ । उनी पनि सक्रमण फैलिएको देश भारतबाट आएका हुन् । ज्वरो, रुघा मर्की केही पनि नभए पनि स्वाबको नमुना लिएर धरान घर भएकालाई फुस्रेस्थित क्वारेन्टाइनमा पठाइने वीपी प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले बताए ।