धरान: मंगलबार राती भक्तपुरमा कोरोना संक्रमित पुष्टि भएका दुई जना मध्ये सुनसरीबाट भक्तपुर पुगेको देखिएको छ ।
ती २५ बर्षीय महिला सुनसरीको झुम्काबाट भक्तपुर आएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उनी तीन दिनअघि मात्र सुनसरीको झुम्काबाट भक्तपुर पुगेको प्रजिअ पाण्डेको भनाई छ । पाण्डेका अुनसार ती महिला पास भएको मोटरसाइकलमा झुम्काबाट भक्तपुर पुगेकी थिइन् । उनलाई त्यहाँ पुर्याएर एक मोटरसाइकलमा अर्को व्यक्ति फर्किएको पनि प्रजिअ पाण्डेको भनाई छ। ‘पास भएको मोटरसाइकलमा पुर्याउन आएर फर्केको देखिन्छ,’प्रजिअ पाण्डेले क्लिकधरानसँग भनिन्,‘कन्ट्याक्ट ट्रेसिङ गर्दैछौं ।’
संक्रमित युवती भक्तपुरमा डेरा गरी बसेको पनि प्रजिअ पाण्डेले बताइन् । संक्रमित युवतीलाई टेकु अस्पतालमा भर्ना गरिएको छ । संक्रमित युवतीकी एक साथी स्टाफ नर्स छिन् । उनलाई निगरानीमा राखेर परीक्षण गर्ने तयारी छ भने अन्य विवरण लिने काम भइरहेको छ । यता, सुनसरीका प्रजिअ राजेश पौडेलले पनि संक्रमित युवती झुम्काबाट गएको भन्ने प्रारम्भिक जानकारी आएको बताए । उनले ती युवती कुन ठाउँबाट गएको र को कोसँग सम्पर्कमा थिइन् भन्ने चाडै पत्ता लगाउने बताए ।
                    
		
                                        
                                                                                                
                    
		


		
		
		
		



