धरान: उपचारको क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

मृत्यु हुने सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चेकी २९ बर्षीय महिला हुन् । उनको मृत्युबारे स्वास्थ्य मन्त्रालयले आधिकारिकरुपमा पुष्टि भने गरेको छैन । उनी शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यहाँबाट घर फर्किएकी उनलाई श्वासप्रश्वास समस्या भएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उनको धुलिखेल अस्पतालमा नै स्वाब लिएर पिसिआर जाँच पनि गरिएको थियो ।

पिसिआर जाँचको रिपोर्ट पनि पोजेटिभ आएको छ । पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण गर्ने भनेपछि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको लागि पठाइएको धुलिखेल अस्पतालले जनाएको छ । कोरोना संक्रमणको आशंकामा उनको स्वाव संकलन गरी पीसीआर परिक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि पुनः परीक्षण गर्न पठाइएको धुलिखेल अस्पतालका प्रवक्ता डा.सुमनराज ताम्राकारले जानकारी दिए ।

मन्त्रालयले यो मृत्युबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने बताइएको छ । सुत्केरीको मृत्यु भएपछि अहिले धुलिखेल अस्पताललाई सिल गरिएको छ भने आकस्मिक कक्षका स्वास्थ्यकर्मी तथा उपचारमा संलग्नहरुलाई अलग्गै राखेर स्वाब परीक्षण गरिएको छ ।