धरान: सरकारले आगामी आर्थिक बर्ष २०७७ ०७८ को लागि ल्याएको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ ।

आज संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट प्रस्तुत गर्दे स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । अघिल्लो आर्थिक बर्षको तुलनामा यो करिब २२ अर्ब बढी हो । चालु बर्षमा स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । कोरोनाको महामारी थप विस्तार हुन नदिन जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउन, कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि औषधि, उपकरणका लागि पनि जोड दिइएको डा.खतिवडाले बताए ।

सरकारले सबै स्थानीय तहमा ५ देखि १५ बेडको २ सय अस्पताल बनाउन पनि बजेट विनियोजन गरेको छ । आगामी नीत बर्षमा सबै नागरिकमा स्वास्थ्य बीमा र आगामी वर्ष ४० प्रतिशत जनसंख्यालाई बिमाको दायरामा ल्याउन साढे ७ अर्ब विनियोजन गरिएको छ ।

यसैगरि, सरकारले प्रदेश र स्थानीय सरकारलाई दिने बजेटलाई यथावत राखेको पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए । आगामी आर्थिक वर्षका लागि ससर्त अनुदानतर्फ प्रदेशलाई ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई एक खर्ब ६१ अर्ब ८ करोड विनियोजन गरेको पनि खतिवाडले बताए । प्रदेश र स्थानीय तहलाई विशेष खालको कार्यक्रमको लागि करिब १० अर्ब बजेट विनियोजन गरेको छ ।