धरान: धरानको एन्फा एकेडेमी क्वारेन्टाइनमा कोरोना संक्रमित युवासँगै एउटै कोठामा बसेका ३ जनाको पुनः पिसिआर परीक्षण गरिने भएको छ ।
उनीहरुको रिपोर्ट नेगेटिभ आएको भएपनि एउटै कोठामा बसेको र क्लोज कन्ट्याकमा रहेको कारण पुनः पिसिआर जाँच गरिने भएको हो । यस्तै, पिसिआर रिपोर्ट नेगेटिभ आएका अन्य ४१ जनालाई भने डिस्चार्ज गरिने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘एउटो कोठमा बसेका ३ जनाको पनि रिपोर्ट नेगेटिभ छ, तर त्यही कोठामा बसेका एक जना पोजेटिभ रिपोर्ट आएपछि फेरि ३ जनाको स्वाब आज संकलन गर्ने तयारीमा छौं,’महाशाखा प्रमुख मेहताले भने,‘आज जम्मा १५ जनाको स्वाब संकलन गछौं ।’
भारतबाट आएकाहरुलाई एन्फा क्वारेन्टाइनमा राखिएको थियो । बिहिबार क्वारेन्टाइनमा रहेका ४५ जनाको स्वाब संकलन गरिएको थियो । तीमध्ये ४४ जनाको नेगेटिभ रिपोर्ट आएको थियो भने एक जनाको पोजेटिभ आएको थियो । उनलाई हिजो राती नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा लगिएको छ । ‘यहाँको अवस्था सामान्य नै छ । पोजेटिभ आएका एक जनासँगै कोठामा रहेको ३ जनाको फेरि पिसिआर गछौं । अरु नेगेटिभ रिपोर्ट आएका ४१ जनालाई खाना खुवाई सक्यौं, उहाँहरुलाई घर पठाउदैछौं,’वडा १७ का अध्यक्ष मनोज भट्टराईले भने,‘यहाँको अवस्था सामान्य नै छ, चिन्ता लिनुपर्ने अवस्था छैन ।’
एन्फा क्वारेन्टाइनमा हिजो थप ७ जना आएका छन् भने आज ५ जना आउदै गरेका छन् । उनीहरुको पनि आज नै स्वाब संकलन गरिने अध्यक्ष भट्टराईले बताए । ‘३ जनाको फेरि स्वाब कलेक्सन हुन्छ, थपिएका १२ जनाको पनि कलेक्सन गछौं,’उनले भने ।







