धरान: वनको संरक्षण गर्दै पर्यटन विकास गर्ने र आयस्रोत पनि बढाउने उद्देश्य लिएर धरान १७ स्थित उदय सामुदायिक वन उपभोक्ता समुहमा पर्या-पर्यटनको अवधारणा अघि बढाइएको छ ।

वन समुहले पर्यटनको विकास गर्न पर्या पर्यटनको अवधारणा ल्याएपछि अहिले वडा नं १७ को बजेटबाट डिपिआर तयारी भइरहेको छ । चालु आर्थिक बर्षमा वडा कार्यालयले डिपिआर तयार गर्न ४ लाख बजेट विनियोजन गरेको थियो । अहिले सोही बजेटबाट डिपिआर तयार गर्न सर्वेलगायतको काम भइरहेको वडा अध्यक्ष मनोज भट्टराईले जानकारी दिए । ‘वन समुहले पर्या पर्यटनको अवधारणा ल्याउनु भयो, हामीले वडाबाट ४ लाख बजेट विनियोजन गर्यौं र अहिले डिपिआर तयारी हुदैछ,’उनले भने । उनका अनुसार फन पार्क, पिकनिक स्पट र बाँस अनुसन्धान केन्द्रमा केन्द्रीत भएर डिपिआर तयार हुनेछ ।

uday-banko

वन समुहका अध्यक्ष जसकुमार राईले वनलाई अतिक्रमण तथा फडानीबाट जोगाउने साथै पर्या पर्यटनको विकास गरेर आयस्रोत वृद्धि गर्ने लक्ष्य राखिएको बताए । उनका अनुसार रेलको लिकदेखि उत्तर, वस्तीदेखि दक्षिण, ठकुरी खोला, बाँस अनुसन्धान केन्द्र पुर्व, भालुखोप पश्चिम क्षेत्रबीचमा आन्तरिक पर्यटन प्रर्वद्धनको लागि विकास गरिनेछ । ‘भालु खोपमा दह बनाउने योजना छ, मानिसहरु घुम्न आउने, रमाउने र हेर्न लायक ठाउँ हुन्छ,’अध्यक्ष राईले भने,‘प्राकृतिक संरचनाहरु विनाश नगरी नै निर्माण हुन्छ ।’

अहिले कन्सल्टेण्टका प्राविधिकहरुले पार्कको अवधारणामा डिपिआरको लागि सर्वेको काम गरिरहेको धरान उपमहानगरपालिकाका ईञ्जिनियर सुरज श्रेष्ठले बताए । सर्वे भइसकेपछि वन समुह, वडा कार्यालयसँग छलफल गरेर के के संरचनाहरु निर्माण गर्ने भन्ने प्रष्ट हुने उनले बताए ।