धरान: साउन १० गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा धरान उपमहानगरपालिकाको सातौं नगरसभा भएको थियो ।

उक्त सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएपछि असार २६ गते बैठक बस्ने गरि सभा स्थगित गरिएको थियो । त्यसअनुसार सभाको बैठक भोली शुक्रबार पुनः बस्नुपर्ने हो । त्यसभन्दा अघि आवश्यक प्रक्रियाहरु पुरा गर्न कार्यपालिका बैठक हुनुपर्छ । त्यसको लागि आज कार्यपालिका बैठक बस्नुपर्ने थियो । तर, धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्न सकेन । त्यसैले भोली शुक्रबार हुने नगरसभा पनि नहुने भएको छ । दुई साता लामो समयमा पनि उपमहानगरले आवश्यक तयारी नगर्दा नगरसभा अन्योल भएको छ ।

अन्य स्थानीय तहहरुले नीति, कार्यक्रम र बजेटमा छलफल गरेर धमाधम पास गरिरहेका छन् । धरानमा भने अहिलेसम्म नीति, कार्यक्रम र बजेटमाथि छलफल नै हुन पाएको छैन । कानुनः १५ दिनभित्र नीति, कार्यक्रम तथा बजेट पास भइसक्नुपर्ने जानकारहरु बताउँछन् । तर, धरानको नगरसभा शुरु भएको दिन स्थगित भएपछि १६ औं दिनमा बोलाइएको थियो । तर, उक्त दिन पनि सभा नबस्ने निश्चित भइसकेको छ । साउनदेखि नयाँ आर्थिक बर्ष शुरु हुने भएकोले नीति तथा कार्यक्रम, बजेट असारभित्रै पास गर्नुपर्ने हुन्छ ।

वडा नं १७ का अध्यक्ष एवं कार्यपालिका सदस्य मनोज भट्टराईका अनुसार बिहिबार कार्यपालिका बैठक बस्नुपर्ने र आवश्यक निर्णय गरेर शुक्रबार नगरसभा बस्नुपर्ने थियो । तर, मेयरले आवश्यक तयारी पुरा नभएको भन्दै शुक्रबारको सभा पुनः स्थगित गरेको उनले बताए । ‘नीति, कार्यक्रम र बजेट नगरसभामा टेबल भएको थियो । त्यसमा छलफल गर्नुपर्नेछ । बिषयगत समिति र वडाको सिलिङ बारे पनि कार्यपालिका बैठकमा छलफल भएर पास हुनुपर्ने थियो,’उनले भने,‘तर मेयर साबले आज तयारी पुगेन भन्नुहुन्छ ।’

असार १० गतेको नगरसभा अघि पनि निक्कै रस्साकस्सी परेको थियो । समयमा नै वडाको बजेट सिलिङ पठाउन नसकेपछि वडाअध्यक्षहरु असन्तुष्ट थिए भने कार्यपालिका बैठकमा पनि विवादले स्थगित नै भएको थियो । असार १० गते बिहान कार्यपालिका बैठक बसेर दिउँसो नगरसभा गर्नुपरेको थियो । अहिले पनि केही वडाका अध्यक्षहरु उपमहानगरले पठाएको वडाको सिलिङ बजेटप्रति सन्तुष्ट छैनन् ।

मेयर राई भने प्रक्रियागत ढंगबाट सबै कुरा मिलाएर जाने बताउँछन् । बिहिबार कार्यपालिका बैठक राख्न नभ्याएको र केही वडाबाट सिलिङ नआएको पनि उनले बताए । ‘केही वडाबाट सिलिङ आइपुगेको छैन । नगरसभा अघि कार्यपालिका बैठक राख्नुपर्यो, आज भ्याइएन । भोली कार्यपालिका बैठक बस्छ, र पर्सि सभा हुन्छ,’उनले भने,‘केही वडामा जनताको माग धेरै छ । नगरपालिकाले सबै दिन सक्दैन । पुल, बाटोको कुरा, खानेपानीको कुरा छ, वडाले सम्बोधन गर्न सक्दैन । सबैलाई गाह्रो छ, सहजीकरण गर्दैछौं ।’ मेयर राईले असार भित्र नीति, कार्यक्रम र बजेट पास गर्ने पनि दाबी गरे । कार्यपालिका बैठकबाट टुंगिए पछि सभामा समस्या नहुने उनको भनाई छ ।