धरान: निरन्तरको बर्षाको कारण सप्तकोसी नदीमा पानीको वहाव यो वर्षकै उच्च पुगेको छ ।

कोशी ब्यारेजस्थित नेपाल प्रहरीका अनुसार आज बिहान ८ बजे गरिएको मापन अनुसार २ लाख ७ हजार ५१५ प्रतिसेकेन्ड क्यूसेक पानीको वहाव पुगेको छ । हिजो रातीदेखि निरन्तरत पानीको वहाव बढेको कोशी ब्यारेजस्थित नेपाल प्रहरीका असई कुलबहादुर खत्रीले जानकारी दिए । 'हिजो रातीदेखि वहाव बढेको छ, पहाडी क्षेत्रमा बर्षा भइरहेकोले पनि वहाव उच्च भएको हो,' उनले भने ।

यसअघि असार १२ गते पनि कोशीमा वहाव १ लाख ७७ हजार ७२० प्रतिसेकेन्ड क्यूसेक पुगेको थियो । त्यसपछि निरन्तर घट्दै गएर १ लाख १२ हजारमा झरेको थियो । तर, हिजो साँझदेखि भने निरन्तर बढ्दै गएको असई खत्रीले जानकारी दिए । उनका अनुसार कोशी ब्यारेजमा रहेको ५६ वटा ढोकाममध्ये ३० वटा खोलिएको छ ।

कोशीमा पानीको बहाब डेढ लाख मापन गरिए पनि रातो बत्ति बालेर सर्वसाधारणहरुलाई सचेत गराउने गरिन्छ । यस्तै, २ लाख कटेपछि दोस्रो रातो बत्ति बल्छ भने पानीको वहाव ३ लाख नाघे पछि बीचमा पनि अर्को बत्ति बल्छ भने रातो झण्डा पनि राखिन्छ । कोशी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्यूसेक छ। २०६५ भदौ २ गते १ लाख ६८ हजार क्यूसेक पानीको वहाव हुदाँ पूर्वी तटबन्ध भत्काएर कोशीले ठुलो धनजनको क्षति गरेको थियो ।