धरान: साउन २२ गतेदेखि धरानमा लकडाउन छ । स्वास्थ्य सेवाको एम्बुलेन्स, शववाहन, वारुण यन्त्र र सरसफाईको गाडी बाहेक अन्य कुनै पनि सवारीसाधनहरु धरान प्रवेश गर्न नदिने र धरानभित्र पनि चल्न नदिने निर्णय छ ।
अन्यत्रबाट आएको ढुवानीको साधनहरु धरानभित्र नरोकि सिधै धनकुटातिर जाने वा पहाडबाट आएका गाडी सिधै इटहरीतिर जाने भए मात्र प्रवेश गर्न दिइन्छ । तर, आज बिहान धरानको तीनकुने नाकामा पुग्दा गाडीहरुको ताती लागेको थियो । दुध, तरकारी तथा अन्य ढुवानीका गाडीहरुलाई नगर प्रहरी र ट्राफिकले तीनकुने नाकामा नै रोकेर धरान प्रवेश गर्न दिइरहेको थिएन । धरान नरोकी सिधै धनकुटा, भोजपुर जाने गाडीहरुलाई आवश्यक चलानी तथा कागजपत्र हेरेर मात्र जान दिइरहेको थियो ।
भिडियो:
नगर प्रहरी निरीक्षक विष्णु कोइरालाका अनुसार अधिकांश दुध, सब्जी, खाद्यान्नको गाडीहरुलाई धरानमा आउन नदिइएको बताए । समुदायमा संक्रमण फैलिएको कारण धरानमा कुनै पनि गाडीहरु आउन नदिने निर्णय भए अनुसार रोकिएको उनको भनाई छ । तर, पहाडतिर जाने गाडीहरुलाई भने कागजपत्र हेरेर जान दिइरहेको उनले बताए । मोटरसाइकलमा ओहोरदोहोर गर्नेहरु पनि थुप्रै देखिए । तर, प्रहरीले पास नलिई आएकाहरुलाई फर्काईदिने गरेको छ ।








