धरान: सुनसरीका भोक्राहा नरसिंह गाउँपालिका ७ का युवा गुणराज यादवको विभत्स हत्या घटनामा सुनसरी प्रहरीले ५ जनालाई पक्राउ गरिसकेको छ ।
सोही घटनाबारे थप अनुसन्धानको लागि आज दिउँसो जिल्ला प्रहरी कार्यालयको टोली गाउँ पुगेको थियो । प्रहरीले गुणराजको शव राख्न प्रयोग भएको बोरा ल्याइएको घरमा सर्च गर्ने उद्देश्यल गएको थियो । प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा प्रहरी टोली पुगेपछि स्थानीयबासी जम्मा भएर नाराबाजी गर्न थाले ।
स्थानीयबासीले प्रहरीले सर्च गरेको विरोधमा नाराबाजी गरेका भने होइनन् । उनीहरुले हत्या घटनामा प्रहरीले पक्राउ गरेकाहरु दोषी भए फाँसी दिन माग गर्दै नारा लगाएका हुन् । साथै, स्थानीयबासीहरुले प्रहरीको जयजयकार पनि गरेका थिए । उनीहरुले 'प्रहरी जिन्दावाद ! सुनसरी प्रहरी प्रमुख कमल थापा जिन्दावाद ! सरोज खनाल जिन्दावाद !' भन्दै नारा लगाए । नाराबाजी गर्नेहरु मृतक गुणराज पक्षकाहरु थिए । उनीहरुले गुणराजको हत्याराहरुलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

प्रहरी निरीक्षक सरोज खनालले सर्चको लागि प्रहरी टोली पुग्दा मृतक पक्षका मानिसहरुले राम्रो अनुसन्धान गर्न भनेर नारा लगाएको बताए । 'हामी अनुसन्धानको क्रममा नै गएका थियौं, गाउँलेहरु पनि आएर राम्रो अनुसन्धान गर्नुपर्छ, दोषीलाई कारबाही हुनुपर्छ भनेर भनेका हुन्,'प्रहरी निरीक्षक खनालले भने, 'हाम्रो अनुसन्धानमा बाधा पुर्याउने उद्देश्यले नाराबाजी भएको होइन ।' साउन ३१ गते गुणराजको शव सुनसरी खोलामा बोराभित्र हालेर फालेको अवस्थामा भेटिएको थियो । उनको हत्याको आरोपमा दिनेश महतो, पप्पु राम, शिव कुमार मेहता, दिपक कुमार यादव र प्रदिप रामलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
                     
		


 
		 
		 
		 
		



