धरान: पूर्वकै पुरानो होमस्टे इटहरी ३ मा रहेको खोसार्ने खापलाई ब्यवस्थित गरि संचालनका गर्न पहल थालिएको छ ।

इटहरी उपमहानगरले पर्यटन दिवसको अवसर पारेर खोसार्ने खापमै अन्तरक्रिया गर्दै होम स्टेलाई पुनः व्यवस्थित गरेर सञ्चालनको पहल थालेको हो । अन्तरक्रियामा सात वर्ष अघिदेखि सुरु खोर्सानेखाप होम स्टे संचालनमा आएका समस्या र समाधानको बिषयमा छलफल भएको थियो । स्थानीयले होम स्टे संचालनमा आएका समस्या जानकारी दिदै पुनः ब्यस्थित ढंगले संचालन गरिनुपर्नेमा जोडदिए ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले स्थानीयको समस्याप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै खोर्सानेखाप होमस्टे संचालन गरेर सफल बनाउन योजनावद्ध ढंगले अघि बढ्ने बताए । उपप्रमुख लक्ष्मी गौतमले स्थानीयवासी र सरोकारवालालाई कार्ययोजना बनाएर ल्याउन आग्रह गरिन् । साथै, होम स्टे सफल बनाउन सेमिनार हलको आवश्यकता रहेको पनि औल्याइन् ।

प्रमुख प्रशासकीय अघिकृत कृष्ण सापकोटाले स्थानीय कलाको जर्गेना, स्थानीय अर्गानिक उत्पादन र स्थानीय विशेषतासहितको होम स्टे संचालन गरिनुपर्नेमा जोड दिएका थिए । स्थानीय आश वहादुर घिमाल, शिवहाङ्ग राई, हिरा धिमाललगायतले होम स्टे संचालनमा आएका समस्या, बाटोघाटो, सिचाँई लगायतका बारेमा प्रश्न गरेका थिए । तुलाराम दंगालले खोसार्नेखाप होम स्टेलाई विलिन हुन दिन नहुने धारणा राखे ।

tourism- 1

सोही कार्यक्रममा इटहरीको तालतलैया क्षेत्रको ब्यवस्थित विकास कसरी गर्ने भनेर पनि छलफल भएको थियो । तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीर वहादुर लिम्वूले तालतलैया देशकै गहना भएको वताउदै यसलाई स्वायत्त ढंगले संचालन गरिनुपर्नेमा जोडदिए । उपमहानगर आन्तरिक ब्यवस्थापन शाखा प्रमुख गणेश भटटराईले स्थानीयवासी स्वयम जागरुक हुनुपर्ने बताए ।

खोसार्नेखापमा भएको अन्तरक्रियाअघि नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अघिकृत लगायत अन्य सरोकारवालाहरुले तालतलैया क्षेत्रको अवलोकनसमेत गरेका थिए । अध्यक्ष लिम्वूले तालतलैयामा उपमहानगर, प्रदेश र केन्द्र सरकारको सहयोगमा भइरहेका विकासका कार्य बारेमा जानकारी गराएका थिए । उनले तालतलैयामा आन्तरिक र बाह्य पर्यटक गरि वर्षमा पाँच लाख आउने गरेको तथ्यांक पनि सुनाए । तर लकडाउन यता भने तालतलैया सुनसान देखिन्छ ।