धरान: कोरोना संक्रमणको जोखिम भएपनि धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा भक्तजनहरुको घुँइचो बढेपछि स्थानीय, जनप्रतिनिधि र प्रहरी प्रशासन चिन्तित बनेका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गर्दै धार्मिकस्थलहरुमा पुजाआजा गर्न प्रतिबन्ध लगाएपनि बुढासुब्बा मन्दिरमा भने भक्तजनहरुको भिड दिनहुँ बढ्दो छ । विजयपुरमा संक्रमण र मृत्यु दर पनि बढ्दो रहेपछि आज बिहान प्रहरी प्रशासन, मन्दिर व्यवस्थापन, जनप्रतिनिधिसहितको बैठकले भोली बिहिबारदेखि बुढासुब्बा मन्दिरमा कसैलाई पनि प्रवेश गर्न नदिइने निर्णय गरेको छ । वडा न. १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईका अनुसार भक्तजनहरुलाई विजयपुर चोकबाट नै फर्काइनेछ । त्यसको लागि चोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र वडाका कर्मचारीहरु पनि खटिनेछन् ।
अध्यक्ष भट्टराईले धार्मिक आस्थामा ठेस पुर्याउन खोजेको नभै विजयपुरमा कोरोना संक्रमणको जोखिम बढेको र प्रशासनले निषेधाज्ञा पनि जारी गरेको हुनाले यस्तो निर्णय गर्नुपरेको बताए । ‘हामीले धार्मिक आस्थामाथि ठेस पुर्याउन खोजेको होइन, संक्रमणको जोखिम ज्यादै भयो । आजै बिहान मात्र विजयपुरमा एक जनाको मृत्यु भएको छ,’अध्यक्ष भट्टराईले भने,‘यस्तो बिषम परिस्थितिलाई सबैले बुझिदिनुपर्छ ।’

विजयपुरमा बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर जस्ता पौराणिक महत्वका मठमन्दिर छन् । तर, अचेल बुढासुब्बा मन्दिरमा मात्र अत्यधिक भक्तजनहरुको भिड लाग्ने गरेको छ । धेरैको बुढासुब्बामा भाकल हुने र मनोकांक्षा पुरा भएकोले दर्शन गर्न आउनेहरु हुन्छन् । धरानबाट बाहिर विभिन्न जिल्लाबाट आउने भक्तजनहरु धेरै छन् । भानुचोकबाट टेम्पोमा भक्तजनहरु आउने भएकोले भोलीदेखि मन्दिर जानको लागि कसैलाई पनि लिएर नआउन टेम्पो चालकहरुलाई पनि सचेत गराइने अध्यक्ष भट्टराईले बताए ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बुढासुब्बा मन्दिरमा भिडभाड बढेकोले स्थानीय, जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिसँग मिलेर भोलीदेखि भक्तजनहरुलाई मन्दिर क्षेत्रमा जान रोक लगाइने बताए । ‘संक्रमण बढ्दै गएको छ, तर पनि बुढासुब्बा मन्दिरमा भिडभाड हुन्छ । भोलीदेखि प्रहरी पनि परिचालन गरेर चोकबाट नै फर्काउने निर्णय भएको छ,’डिएसपी बस्नेतले भने ।
वडा १४ लाई लकडाउन गर्नुपर्छ: स्थानीय
वडा नं १४ विजयपुरका स्थानीय भने वडालाई दुई साताको लागि लकडाउन गर्नुपर्ने बताउँछन् । यहाँ ऐतिहासिक, पौराणिक महत्वका धार्मिकस्थलहरु भएकोले टाढा टाढाबाट भक्तजनहरु आउने गरेको कारण वडालाई लक गर्नुपर्ने उनीहरुको धारणा छ । ‘बाहिरबाट दर्शनको लागि मानिसहरु व्यापक आउन थाले, यसरी त झन् संक्रमण बढ्छ,’स्थानीय एवं समाजसेवी प्रेमप्रसाद पराजुली भन्छन्,‘कम्तीमा १५ दिन लक गरेर वडा १४ लाई बाहिरको सम्पर्क टुटाउन आवश्यक छ ।’
वडा १४ लाई लकडाउन गर्ने बिषयमा स्थानीय सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलसँग पनि आग्रह गरेका छन् । प्रजिअ पोखरेलले स्थानीयबाट वडालाई लकडाउन गर्ने सुझाव दिएको तर यो बिषयमा उपमहानगरपालिका, इलाका प्रशासन कार्यालयसँग आवश्यक राय, सल्लाह लिएर मात्र निर्णय गर्ने बताए । ‘यो बिषयमा मेयर साबसँग, इलाका प्रशासनसँग कुरा गर्न बाँकी छ । स्थानीयबासीले लकडाउन नै गर्नुपर्छ भन्ने कुरा गर्नुभएको छ,’प्रजिअ पोखरेलले भने ।







