धरान: हरेक शनिबार धरानको वरिपरीका डाँडाहरुमा पदयात्रामा जाने एउटा समुह छ, सेवा अभियान । यो समुहले हरेक शनिबार स्वास्थ्यको लागि पदयात्रा गर्दै आएको थियो ।

गएको चैत दोस्रो सातादेखि भने कोरोना महामारी र लकडाउनको कारण पदयात्रा रोकिएको छ । पछिल्लो पदयात्रा १३२ औं साता पुगेको थियो । लामो समय रोकिएको पदयात्रा कहिले शुरु गर्ने भनेर निश्चित भइसकेको छैन । तर, पदयात्राका मुख्य अभियन्ताहरु भने अचेल सिमित थोरैं संख्यामा हिड्छन्, र सरसफाई अभियान चलाइराखेका छन् ।

यही समुहले आज बिहान धरान १४ स्थित पञ्चकन्या मन्दिर क्षेत्रमा सरसफाई गरेका छन् । हाईकिङ बाबाको नामले परिचित प्रमुख अभियन्ता राजिव हलवाईका अनुसार यसरी मन्दिर क्षेत्रमा सरसफाई गर्न थालेको ७ हप्ता पुगिसकेको छ । सरसफाई सोमबारको दिन गर्दै आएकोमा यसपाली शनिबार गरिएको उनले बताए । ‘यो सोमबार बराहक्षेत्र मन्दिरमा सरसफाई कार्यक्रम हुने भएकोले आज शनिबार नै गरेका हौं,’उनले भने,‘हामी ५, ७ जना हिड्छौं, र फोहोर मैला संकलन गछौं ।’

walk1

पञ्चकन्या मन्दिर आसपासमा धेरै फोहोर भेटिएको पनि उनले बताए । रक्सी, वियरका बोतलहरु जथाभावी फालिएको अवस्थामा उनीहरुले संकलन गरेका छन्।‘मन्दिरमा पुजा गर्न जानेहरुले प्रसाद खाएर त्यही फाल्छन्, पिकनिक खान जानेहरुले पनि फोहोर गर्छन्, खाएको चिजहरु जताततै फाल्छन्,’हलवाईले भने,‘आधा ट्याक्टर जति बोतलहरु संकलन गरिसकेका छौं, एक ट्याक्टर पुगेपछि नगरपालिकालाई भनेर पठाउछौं ।’

स्वास्थ्यको लागि पदयात्रा कार्यक्रम आगामी सातादेखि शुरुवात गर्ने सोच रहेको पनि हलवाईले बताए । थर्मल गन पनि खरीद गरिसकेको र ज्वरो नापेर मात्र पदयात्रामा हिडाउने तयारी गरिएको पनि उनको भनाई छ । ‘पदयात्रा स्वास्थ्यकै लागि हो, आवश्यक सचेतना अपनाएर नै औपचारिकरुपमा नै १३३ हप्ताको शुरुवात गछौं,’उनले भने ।walk3