धरानः इटहरी उपमहानरपालिका क्षेत्रको सेफ्टी ट्यांकीको दिशाजन्य फोहोर धरान उपमहानगरपालिका क्षेत्रमा पर्ने चारकोशे जङ्गलमा जथाभावीरुपमा फाल्ने गरेको पाइएको छ ।

आज (शनिबार) खानेपानीको वेल हाउसमा स्थलगत निरिक्षण गर्न पुगेका धरानका मेयर तिलक राईले दिशाजन्य फोहोर धरान क्षेत्रमा पर्ने चारकोशे जंगलमा फाल्ने गरेको फेला पारेका थिए । मेयर राईले चारकोशे जङ्गलमा मानव मलमुत्र विसर्जन गर्न ल्याउँदै गरेका को १ ख ६२९३ नं.को सेफ्टी ट्याङ्कीको गाडी भेटिएको र बीच बाटोबाट नै फर्काइएको जानकारी दिए । मेयर राईका अनुसार ईटहरी उपमहानगरले यस विषयमा धरान उपमहानगरसँग कुनै पनि सम्झौता गरेको छैन । साथै, यसरी जथाभावीरुपमा मानव मलमुत्र फाल्नु स्वास्थ्य र प्रकृतिलाई नै पनि असर पुग्ने उनले बताए । ‘ हाँसपोसा सामुदायिक वनले संरक्षण गर्दै आएको जंगल धरान क्षेत्रमा पर्छ, यसरी मानव स्वास्थ्य र वातावरणलाई असर पर्नेगरी फोहोर फाल्न हामीले अनुमति दिएका छैनौं,’ मेयर राईले भने ।

अव्यवस्थित तरिकाले फोहोर फाल्न नपाईने भन्दै मेयर राईले तत्काल रोक्न निर्देशन पनि दिएका छन् । त्यसक्षेत्रमा दिउँसो धरान उपमहागनरको नगर प्रहरी खटाइएको थियो । ईटहरी उपमहानगरले जथाभावी रुपमा फालेको फोहोरको दुर्गन्धका कारण खानेपानीको वेल हाउसमा बस्ने कर्मचारी तथा तिनका परिवारका सदस्यहरु विरामीे हुन थालेको गुनासो गरेका छन् । त्यस क्षेत्रमा मानव मलमुत्र तथा फोहोर फाल्न दैनिक ९, १० वटा सेफ्टी ट्याङ्कीको गाडी आउने गरेको पाइएको छ ।

safty1

सेफ्टी ट्याङ्कीका चालक भीम बहादुर तामाङले ईटहरीका मेयर र उपमेयरसँग समन्वय गरेर यस क्षेत्रमा फाल्न आउने गरिएको बताए । साथै उनले सामुदायिक वनसँग पनि सम्झौता गरेर फाल्ने गरिएको पनि जानकारी दिए ।सामुदायिक वनलाई एक वटा सेफ्टी ट्याङ्की बापत महिनाको २५ सय रुपैयाँदेखि ३ हजारसम्म दिने गरेको उनले सुनाए ।

धरान उपमहानगरका वातावरण शाखा प्रमुख भेषराज घिमिरेले नगरको विकास विस्तार हुँदै गर्दा देखि नै त्यस क्षेत्रमा ईटहरीले फोहोर फाल्ने गरेको जानकारी दिए । साविक जिल्ला वन कार्यालय सुनसरीले समेत त्यस क्षेत्रमा फोहोर नफाल्न पटक पटक आग्रह गरेको उनले बताए । उनले ईटहरी उपमहानगरले पनि फोहोर व्यवस्थापन गर्नका लागि अहिले जङ्गल बाहिर नै ल्याण्डफिल्ड निर्माण हुँदै गरेको जानकारी दिए । उनका अनुसार भोलि (आईतबार) धरान उपमहानगर र ईटहरी उपमहानगरबिच यस विषयमा अन्तरक्रिया हुनेछ ।