धरान: प्रदेश सरकार मातहतको प्रदेश पर्यटन कार्यालय धरान १ मा रहने भएको छ ।

धरान १ स्थित होटल सेक्षसँगै दक्षिण रहेको प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठको घरमा प्रदेश पर्यटन कार्यालय रहने भएको हो । कार्यालय राख्नको लागि द्विपक्षीय सम्झौतासमेत भइसकेको छ । कार्यालयमा प्रमुखकोरुपमा जितेन्द्र राई धरान आइसकेका छन् । उनले कार्यालय रहने भवन निश्चित भइसकेकोले आवश्यक तयारीको कार्य भइरहेको जानकारी दिए । ‘कार्यालयको लागि भवन खोजेर सम्झौता पनि भइसकेको छ,’कार्यालय प्रमुख राईले भने,‘कार्यालय व्यवस्थापन, सेटअप गर्ने कामहरु भइरहेको छ ।’

प्रमुख राईका अनुसार कार्यालय तयारी पुरा भएपछि औपचारिकरुपमा नै उद्घाटन गरिनेछ । यहाँबाट पर्यटनसँग सम्बन्धित लाइसेन्स दिने, नविनकरण गर्नेलगायत सेवाहरु प्रवाह हुनेछ । पर्यटनकर्मी बासुदेव वराल पर्यटन कार्यालय धरानमा रहनु पर्यटनको हब बन्ने खुट्किलो भएको बताउँछन् । कोशी करिडोरलाई लक्षित गरेर धरानमा पर्यटन कार्यालय खुलेकोले अब अब राज्यमा हुने अभिलेखीकरणको लागि अन्यत्र गइरहनु नपर्ने बताए । 'पर्यटनसँग सम्बन्धित लाइसेन्स दिने, दर्ता हुने काम यहीबाट हुन्छ । मन्त्रालयमा गइरहनुपर्ने काम पनि अब यही कार्यालयबाट हुने भयो,'पर्यटनकर्मी बराल भन्छन्, 'मन्त्रालयबाट हुने विकासको काम यहीबाट हुन्छ । प्रमुख रहन्छन्, इञ्जिनियर रहन्छन् । राज्यले धरानलाई महत्व दिएर नै कार्यालय यहाँ आएको हो, कोशेढुंगा हुनेछ ।'