धरान: खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयले हस्तान्तरणको मिति तोके पछि मात्र बिल काउन्टर तथा आर्थिक कारोबार बन्द हुने पत्र पठाएपछि आज शुक्रबार धरान खानेपानी व्यवस्थापन बोर्डको बैठक बसेको छ ।

बोर्डले संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरणबारे महत्वपुर्ण निर्णयहरु गरेपनि सार्वजनिक गरिएको छैन । संस्थानले हस्तान्तरणको मिति तोक्न भनेर पत्राचार गरेको कारण बोर्डको बैठकले समय तोकेर नै संस्थानको सम्पत्ति र दायित्व जिम्मा लिने निर्णय गरेको अनुमान गरिएको छ । तर, हस्तान्तरणको विरोधी पक्षले प्रर्दशन र दबाब दिइरहेको साथै परिस्थिति असहज हुनसक्ने भएकोले निर्णयलाई गोप्य नै राखिएको छ । धरानका मेयर तिलक राईले संस्थानसँग समझदारी कायम गरेर नै हस्तान्तरण प्रक्रियालाई टुंग्याउने बताए । राज्यले निर्णय गरिसकेको र लगानी पनि भइसकेको कारण डिपिआर अनुसार चाडो सम्पन्न गरेर जिम्मा लिने उनले बताए । ‘झगडा गरिराखेर हुदैन, संस्थानसँग समझदारी कायम गरेर नै जिम्मा लिन्छौं, केही निर्णयहरु भएको छ । हरहिसाब दुरुस्त बुझाउन पत्राचार हुन्छ,’मेयर राईले भने ।

केही दिनअघि बोर्डले हस्तान्तरणको प्रक्रियामा रहेकोले बिल काउन्टरलगायत आर्थिक कारोबार बन्द गर्न र मंसिर मसान्तसम्मको हरहिसाब दुरुस्त गरेर बुझाउन संस्थानलाई पत्राचार गरेको थियो । बुधबार र बिहिबार काउन्टर बन्द भएको थियो भने हर्क साम्पाङ नेतृत्वको दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले काउन्टर खुला गर्न तीब्र दबाब दिएको थियो । दबाब परेपछि संस्थानले हस्तान्तरणको मिति नतोकेसम्म काउन्टर बन्द गरेर सेवाग्राहीलाई असहज बनाउन नमिल्ने भनेर केन्द्रीय कार्यालयको निर्देशन आएको पत्र बोर्डलाई पठाउदै आज शुक्रबारदेखि पुनः काउन्टर खुला गरेको थियो । संस्थानको उक्त पत्र आएपछि आज बोर्डको बैठक बसेको हो ।

मेयर राईले बोर्ड बैठकको निर्णय खुलाउन नचाहे पनि संस्थानलाई एक साताभित्र जिम्मा लिने निर्णय भएको स्रोतले जनाएको छ । साथै, हिसाब नलिई संस्थानको सम्पत्ति तथा दायित्व जिम्मा लिन पनि सम्भव नभएकोले ३ दिनभित्र मंसिरसम्मको आर्थिक हिसाबकिताब पाउने वातावरण बनाउनको लागि बोर्ड सदस्य तथा वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई(मनोज) र देवराज श्रेष्ठलाई समन्वय गर्ने जिम्मा दिइएको छ ।