धरान: कोरोना महामारीले नेपालको पनि पर्यटन क्षेत्रलाई ठुलो क्षति पुर्यायो । लकडाउन हटेपछि विस्तारै उठ्न थालेको पर्यटन क्षेत्र अझै पुर्णरुपमा तंग्रिसकेको छैन ।

चितवनको सौराहा नेपालका प्रमुख पर्यटकीय गन्तव्य हो । त्यहाँ आन्तरिकसँगै बाह्य पर्यटकहरु भरिभराउ हुन्थे । लकडाउनले सौराहाको पर्यटन क्षेत्रलाई पनि ठुलो क्षति पुर्यायो । लकडाउनले थला पारेको पर्यटनलाई उठाउनको लागि अहिले सौराहाका व्यवसायीहरु आन्तरिक पर्यटकहरुलाई निम्ता गर्दै देश दौडाहामा निस्केका छन् । क्षेत्रीय होटल संघ चितवनको टोलीले शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै सौराहा घुम्न आह्वान गरेको छ ।

चितवनका व्यवसायीहरुले सौराहा घुम्न आउदा २० देखि ४० प्रतिशतसम्म होटल तथा रेष्टुरेष्टहरुमा छुटको घोषणा गरेका छन् । संघका अध्यक्ष दिपक भट्टराईका अनुसार असोजदेखि चितवनका होटलहरु खुल्न थालेका हुन् । यसबीचमा स्वास्थ्य प्रोटोकल पुर्ण पालना गर्दे होटलहरु सञ्चालन भएको छ । ‘अब सौराहा सुरक्षित छ, त्यसैले ढुक्क भएर घुम्न सक्नुहुन्छ भनेर नै हामी सौराहा घुम्नको लागि आग्रह गर्दे धरान आइपुगेका छौं,’उनले भने,‘आन्तरिक पर्यटकहरुलाई निमन्त्रणा गर्दै पहिलो चोटी आएका हौं, सातै प्रदेशमा पुग्छौं ।’

शुक्रबार नै संघले विराटनगरमा पनि कार्यक्रम गर्ने भएको छ । विराटनगरमा चितवनका पर्यटकीय गतिविधिहरु समेटिएको वृत्तचित्र प्रर्दशन हुनेछ भने चितवन घुम्न किन जाने, कसरी जाने, केके लिएर जाने, कति दुरी छ जस्ता बिषयहरु प्रस्तुत गरिने संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए । उनका अनुसार विगतमा भारतमा यस्तै प्रर्वद्धन कार्यक्रम लिएर संघ जाने गरेको थियो । लकडाउन अघि नै घुमौं सौराहा कार्यक्रम आन्तरिक पर्यटकहरु लक्षित गरेर तयार गरिए पनि लकडाउनले असर गरेको उनको भनाई छ ।

संघका कोषाध्यक्ष माधव दवाडीका अनुसार लकडाउनको कारण सौराहाले मात्र दैनिक ५० लाख आर्थिक क्षति व्यहोर्नुपरेको थियो । चितवनभरिकै हिसाब गर्दा दैनिक ८० लाख पुग्ने उनले बताए । ‘अहिले केही सुधार भएपनि ४०, ४५ लाखतिर क्षति घट्यो होला,’उनले भने,‘७, ८ महिना लकडाउनले घरभित्रै थुनिएको कारण पनि परिवारसहित घुम्न आउने क्रम बढेको छ ।’ कर्पोरेट हाउस, एनजिओ, आइएनजिओहरुको कार्यक्रम, सेमिनारहरु पनि स्वास्थ्य प्रोटोकल पालना गर्दै आयोजना हुन थालेकोले पर्यटन व्यवसायीहरुलाई थोरै भएपनि राहत हुन थालेको उनले बताए ।