इटहरी: इटहरी उपमहानगरपालिका वडा नं ४ स्थित इटहरी मेट्रीक्समा राखिएको बहुमुल्य कलाकृतिहरु चोरी भएको छ ।
मेट्रीक्सको प्रर्दशनी हलमा राखिएका थुप्रै कलाकृतिहरु चोरी भएको संस्थापक अध्यक्ष एवं कलाकार बिक्रम श्रीले जानकारी दिए । उनका अनुसार हिजो सोमबार पाहुनाहरुलाई अवलोकन गर्न लैजादा मात्र कलाकृतिहरु चोरी भएको थाह भएको थियो । पाहुना आउनु भएकोले घुमाउन लैजादा मात्र चोरी भएको थाह पाइयो । भित्र फोटो खिच्छु भन्नु भएकोले लाइट बालेको त कलाकृतिहरु थिएन, उनले भने । सम्भवत: अघिल्लो राती चोरी भएको हुनसक्ने उनको भनाई छ । चोरीबारे ईलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिइसकेको र अनुसन्धान भइरहेको कलाकार श्रीले बताए ।

कलाकार श्रीका अनुसार राती ट्याक्टर ल्याएर कलाकृतिहरु लगेको जस्तो देखिएको छ । प्रर्दशनी हलमा राखिएका २१ वटा चित्र हराएका छन् भने १० वटा जति मुर्ति, ६ थान सालिक, ४० थान कुर्सीलगायत चोरी भएको देखिएको छ । इटहरी म्याट्रीक्स २ बिघा क्षेत्रफलमा रहेको छ । त्यहाँ २ वटा हल छ । एउटा प्रर्दशनी हल र अर्को साँस्कृतिक, साहित्यिक गतिविधि, नाटक, चित्र, मुर्तिको कार्यशालाहरु नियमित हुने गरेको छ । प्रर्दशनी कक्षमा राखिएका कलाकृतिहरु चोरी भएको हो । प्रदेश १ का विभिन्न क्षेत्रका प्रतिनिधि कलाकारहरुको प्रतिनिधि कलाकृतिहरु राखिएको थियो, बिक्रम श्रीले भने ।
ईलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले चोरी भएको निवेदन आएपछि अनुसन्धान शुरु भइसकेको बताए । उनले घटनास्थल हेर्दा तोडफोड केही नभएको तर सामानहरु हराएको पाइएको बताए । म आफै पनि गएर हेरेको छुँ, निवेदन आइसकेको छ र अनुसन्धान शुरु गरिसकेका छौं, डिएसपी केसीले भने ।







