धरान: भोजपुर, उदयपुर र धनकुटाको त्रिवेणीघाटमा अवस्थित प्रागऐतिहासिक महत्वको खुवालुङ (ढुंगा)प्रति किरातहरुको गहिरो आस्था छ । किराती भाषामा खुवाको अर्थत पानी र लुङको अर्थ ढुंगा अर्थात पानीढुंगा हो । खुवालुङ क्षेत्रलाई किराती सभ्यताको विकास हुने क्रमको ऐतिहासिकस्थलकोरुपमा मानिन्छ ।

किराती नक्छोङ, धामी, माङ्पाहरुले आफ्नो धार्मिक कार्य गर्दा यही खुवालुङमा आएर शक्ति आर्जन गरि आफ्नो कार्य सिद्धि गर्छन् । त्यसैले यो ढुंगा किरातीहरुको मुन्धुममी शक्ति केन्द्रकोरुपमा पनि मानिएको छ । त्रिवेणीघाटस्थित यही महत्वपुर्ण साँस्कृतिक खुवालुङको अस्तित्व भने अहिले नामेट हुन लागेको भन्दै किरात समुदाय चिन्तित बनेका छन् । माघ १ गते खुवालुङ क्षेत्रमा नै पुगेर किरात राई यायोक्खाको टोलीले सुनसरी अध्यक्ष बलराम राई संयोजक रहेको खुवालुङ बचाउ भेला आयोजक समिति गठन गरेको थियो । समितिले आज धरानमा पत्रकार सम्मेलन गर्दै किरातीहरुको आस्थाको साँस्कृतिक थलो खुवालुङ मास्न लागेको भन्दै विरोध जनाएको छ ।

khuwalung

समितिका संयोजक राईका अनुसार चतराबाट कोशीमा जेटबोट सञ्चालनमा रहेको र खुवालुङले गर्दा बोट सञ्चालनमा अवरोध पुगेको भन्दै फुटाउने चर्चा चलेको छ । यसप्रति किरात राई यायोक्खा र खुवालुङ बचाउ समितिको पनि गम्भीर ध्यानाकर्षण भएको संयोजक राईले बताए । उनले किरातीहरुको आस्थाको साँस्कृतिक थलो कुनै पनि वहानामा मास्न नपाइने ठहर गरिएको बताए । ‘उक्त ठाउँ र खुवालुङ कुनै हालतमा पनि फोर्न, मास्न पाइदैन र हामी फोर्न पनि दिदैनौ,’संयोजक राईले भने । उनका अनुसार केही समयभित्रै खुवालुङ बचाउ अभियानको लागि पुर्ण समिति गठन गरेर वैधानिकीकरणको अभियान थालिने पनि राईले जानकारी दिए ।

khuwa1 khuwa2