धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आज खुवालुङको स्थलगत अवलोकन गर्न जाने भएका छन् ।

किरात समुदायको आस्थाको केन्द्र रहेको खुवालुुङलाई सरकारले फुटाउने तयारी गरेको भन्दै चर्को आलोचना भइरहेको बेला आज मुख्यमन्त्री राईले स्थलगत अवलोकन गर्ने भएका हुन् । त्रिवेणी नजिकै रहेको खुवालुुङले जलयात्रामा अवरोध पुगेको कारण सरकारले हटाउन लागेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित सभामा अभिव्यक्ति दिएपछि किरात समुदाय असन्तुष्ट छन् । किरात सभ्यतासँग जोडिएको खुवालुुङ अर्थात पानीढुंगालाई नष्ट गर्नुको साटो संरक्षण गर्नुपर्ने आवाज अहिले चर्कोरुपमा उठिरहेको छ । किरात समुदायसँगै सँस्कृतिकविद्, राजनीतिककर्मीहरुले पनि खुवालुुङको संरक्षण गर्दै जलयात्रालाई पनि सहज बनाउनुपर्ने धारणा व्यक्त गरिरहेका छन् । यो बेला मुख्यमन्त्री राईको खुवालुुङ भ्रमणले ठुलो महत्व राख्छ । 

मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव नवराज राई यथार्थ कुरा प्रष्ट बनाउन पनि मुख्यमन्त्री स्थलगत भ्रमणमा जान लागेको बताउँछन् । उनका अनुसार धनकुटा, भोजपुर, उदयपुर र सुनसरीको प्रशासनलाई मुख्यमन्त्री राईले खुवालुुङ संरक्षणबारे आवश्यक निर्देशन पनि दिनेछन् । ‘मिडियामा धेरै कुरा आइरहेको छ । तर यथार्थ के हो भन्ने कुरा मुख्यमन्त्री ज्यूको भ्रमणबाट प्रष्ट हुन्छ,’उनले भने,‘चारै जिल्ला प्रशासन धनकुटा, भोजपुर, उदयपुर र सुनसरीलाई खुवालुङको संरक्षण र विकास गर्न निर्देशन पनि दिइनेछ ।’

भोजपुर, उदयपुर र धनकुटाको संगमस्थल त्रिवेणीघाटमा रहेको खुवालुङप्रति किरातीहरुको गहिरो आस्था छ । किराती भाषामा खुवाको अर्थ पानी र लुङको अर्थ ढुंगा अर्थात पानीढुंगा भन्ने हुन्छ । खुवालुङ क्षेत्रलाई किराती सभ्यता विकास हुने क्रमको ऐतिहासिकस्थलकोरुपमा किरातीहरुले मान्ने गरेका छन् । किराती नक्छोङ, धामी, माङ्पाहरुले आफ्नो धार्मिक कार्य गर्दा यही खुवालुङमा आएर शक्ति आर्जन गर्ने गरेका छन् । त्यसैले यो ढुंगा किरातीहरुको मुन्धुममी शक्ति केन्द्रकोरुपमा रहेको छ । 

किराती मिथक अनुसार किराती सभ्यताको विकास खुवालुङबाट भएको मानिन्छ । किराती आदिम पुर्खाहरु जेठा मुकुबुङ(भोटे), माइला हर्कबुङ(किरात) र कन्छा रिब्लबुङ(थारु) उकालो जादै गर्दा खुवलुङमा आएर छुट्टिएको किरातीहरु विश्वास गर्छन् । खुवालुङमा आउदा ढोका बन्द भएको देखेर जेठाले जुरेलीको भोग दिएपछि ढोका खुलेको र पार गरेको मानिन्छ । माइला भाई हर्कबुङ पार गर्न नसक्दा जेठाले रगतको भोग दिनु र मात्र ढोका खुल्छ भनेपछि आफ्नै चेलीको औला काटेर रगत चढाएपछि ढोका खुलेको विश्वास किरातीहरु गर्छन् ।

तर, चेलीको औलाबाट रगत नरोकिएपछि रगत केराको पातमा खसेको र बाख्राले उक्त पात खादा चेली तत्काल मृत्यु भएको थियो । त्यसैले किरातहरुले आफ्नो कुलपित्रमा बाख्रा नचलाउने र मासु पनि खान नहुने विश्वास रहेको छ । कान्छा भाई पार गर्न नसक्दा तराईतिरै रहे । जेठा हिमाली भेगसम्म पुगेर बसोबास गरे । माइला भाई सुनकोशी किनार आसपासमै बसेर सुनुुवार भएको विश्वास किरातीहरु गर्छन् ।