विराटनगर: तीन दिनअघि विराटनगर ४ स्थित एयरपोर्ट सडक खण्डमा मादक पदार्थ सेवन गरेर चलाएको कारले ठक्कर दिएका एक घाइतेको उपचारको क्रममा निधन भएको थियो । उक्त घटना पश्चात कार चालक फरार भएका थिए ।
घटना पछि फरार रहेका चालक विराटनगर ५ वरगाछीका २४ बर्षीय रविन सिंह कार्कीलाई प्रहरीले आइतबार दिउँसो ४ बजे पक्राउ गरेको छ । उनी प्रदेश सांसद विन्दिया कार्कीका छोरा हुन् । उनलाई घरबाट नै पक्राउ गरेको र सवारी ज्यान कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेको मोरङ प्रहरीले जनाएको छ । कार्कीले चलाएको प्र.३-०१-०२२ च २१३९ नम्बरको कारले राती करिब साढे ७ बजे एयरपोर्ट सडकखण्डको नहर चोकमा दुई जनालाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार विराटनगर ४ मा रहेको न्यु एभरेष्ट फर्निचर उद्योगमा काम गर्ने मजदुर मोरङ कटहरी गाउँपालिका २ का २७ बर्षीय रामकुमार राजवंशी र भारत कटियार घर भई सोही उद्योगमा कार्यरत ३५ बर्षीय मुकेश शर्मा दास कारको ठक्करबाट गम्भीर घाइते भएका थिए । दुवैलाई नोबेल अस्पताल विराटनगरमा उपचारको लागि भर्ना गरिएको थियो । उपचारको क्रममा मुकेशको मृत्यु भएको थियो ।
उक्त दुर्घटना पछि सांसद कार्कीका छोरालाई जोगाउन विभिन्न चलखेल भएको थियो । चालक नै परिवर्तन गरेर सांसद पुत्रलाई जोगाउने प्रयास गरिएको थियो । एडमायर होटलमा मदिरा सेवनपछि रविनले चलाएको कारले पैदल यात्रीलाई ठक्कर दिएको थियो । तीव्र गतिमा हुइँकिएको कारले ठक्कर दिएको थियो ।







