धरान: धरान उपमहानगरपालिकाको बजेट सिलिङको विवादमा सहमति जुटेको छ । 

हिजो र आज बिहान बसेको कार्यपालिका बैठकमा सहमति जुटेको हो । कार्यपालिकामा सहमति जुटेसँगै अहिले धरानको ९ औं नगरसभाको बैठक सुनसरी उद्योग वाणिज्य संघमा बस्ने तयारी भइरहेको छ । यसअघि, असार १० गते उद्घाटन भएको नगरसभा असार १९ गते बस्ने गरि स्थगित भएको थियो । नगरसभामा आगामी आर्थिक बर्षको २ अर्ब ३ करोड ६४ लाखको बजेट, नीति तथा कार्यक्रम पेश भएको थियो ।

वडाका योजनाहरुलाई नगरस्तरीयमा केन्द्रीत गरेको भन्दै वडाअध्यक्षहरुमा असन्तुष्टी थियो भने म्याद गुज्रिसकेको एकीकृत शहरी विकास आयोजना अन्तर्गत चारकोशे जंगलमा खनिएको थप २ वटा वेलको भुक्तानी दिनुपर्ने रकमबारे पनि विवाद थियो । यिनै विवादको कारण असार १९ गते बस्ने भनिएको बैठक पनि स्थगित भएको थियो ।

नगर कार्यपालिकाका प्रवक्ता एवं वडा २० का अध्यक्ष मणीराम राईले वडाको बजेटहरुमा पनि सहमति जुटेर बजेट सिलिङ कार्यापालिकाबाट पारित भएको बताए । उनका अनुसार मेयर कोषको लागि प्रस्ताविक बजेटमध्ये २० लाख कटौती भएको छ भने एकीकृत शहरी विकास आयोजना शिर्षकमा १ करोड ५० लाख छुट्याइएको छ । यसअघि मेयर कोषमा १ करोड २० लाख प्रस्ताव गरिएको थियो भने आयोजनाको लागि बजेट प्रस्ताव नै गरिएको थिएन ।

bajet

एक वडाअध्यक्षका अनुसार शहरी विकास आयोजनाको लागि विनियोजन गरिएको बजेट चार कोसे जंगलमा खनिएको २ वटा बोरिङको भुक्तानी दिनको लागि हो । आयोजनाको डिजाइनभन्दा बाहिर २ वटा वेल खनिएको बिषय निक्कै विवादित भएको थियो । उक्त बोरिङ उपमेयर मञ्जु भण्डारी सुवेदी कार्यवाहक मेयर हुँदा उपनिर्वाचन हुनुभन्दा ५ दिनअघि मात्र निर्णय भएको भन्दै केही समयअघि विवाद उठेको थियो । एउटै कम्पनीलाई २ पटक कोटेशनमार्फत २ वटा बोरिङ खन्न ठेक्का निर्णय गरेकी थिइन् । कम्पनीले एक किस्ता बजेट पनि लगिसकेको बताइएको छ ।

उपनिर्वाचनमा कांग्रेसबाट मेयर तिलक राईले जितेपछि उक्त २ वटा बोरिङको भुक्तानी कस्ले गर्ने भनेर प्रश्न उठाएका थिए । आयोजना अन्तर्गत खनिएको भए एसियाली विकास बैंकले व्यहोर्नुपर्ने भन्दै मेयर राईले उपमहानगरपालिकाले भुक्तानी नगर्ने अडान लिएको एक अध्यक्षको भनाई छ । ‘खन्ने काम भइसक्यो, तर भुक्तानी दिइएको छैन । हाम्रो कार्यकालको अन्तिम बजेट भएकोले उपमेयरले जसरी पनि बजेट विनियोजन गर्नुपर्छ भनेर अडान लिनुभयो, र अन्तिममा सहमति भयो,’एक वडाअध्यक्षले भने ।