धरान: धरानका शारीरिकरुपमा अशक्त व्यक्तिलाई ह्वीलचियरसहित आवश्यक सामग्री वितरण गरिएको छ । 

धरान उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अनुसार शारीरिकरुपमा अशक्त भएका व्यक्तिहरुलाई ह्वीलचियर, वैशाखी, ट्वाईलेट ह्वीलचियर, एल स्टीक, हियरिङ एड वितरण गरेको हो । उक्त सामग्री उपमहानगरपालिकाको सभाहलमा मेयर तिलक राईले वितरण गरेका थिए । 

मेयर राईले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत प्रदेश सरकार, उपमहानगरपालिका र करुणा फाण्डेसनको संयुक्त साझेदारीमा सञ्चालनमा ल्याइएको बताए । मेयर राईका अनुसार धरान भरी रहेका शारीरिकरुपमा अशक्त व्यक्तिहरुलाई उनीहरुकै माग अनुसार भौतिक सामग्री वितरण गरिएको हो । मेयर राईले भने,‘यदी तपाईको छिमेकमा तपाईकै आफन्त, तपाई जस्तो कोही छुटेको छ भने पनि सम्पर्कमा ल्याउन आग्रह गर्छु । अधिकार पाउनबाट कोही पनि बञ्चित नहुनुहोस् ।’ 

अपाङ्ग भएर विरामी भएकालाई उपचारका लागि वडा वडामै सामाजिक विकास महाशाखासँग समन्वय गरेर सहजकर्ता तथा प्राविधिक डाक्टरहरुलाई खटाईने मेयर राईले बताए । ह्वीलचियरको साईज नमिलेमा पुनः साईज मिलाएर व्यवस्थापन गरिदिने पनि मेयर राईले बताए । शारीरिकरुपमा अशक्त भएका व्यक्तिहरुका लागि थुप्रै कार्यक्रमहरु गर्न बाँकी रहेको पनि उनले बताए । कोरोना संक्रमणका कारण भने जति कार्यक्रम खुलेर गर्न नसकेको मेयर राईको भनाई छ । 

मेयर राईले शारीरिक अपाङ्गता भएकाहरुको लागि भ्याक्सिन आउने जानकारी दिए । भ्याक्सिन लगाउने केन्द्र तोकेर खबर गर्ने उनको भनाई थियो । सामाजिक विकास महाशाखा प्रमुख प्रज्ञादेवी निरौलाले ५६ जना, ह्वीलचियर, ट्वाईलेट ह्वीलचियर ५ जना, एल स्टीक ५६ जना र हियरिङ एड ५ जनालाई वितरण गरिएको बताइन् । केही अशक्त व्यक्तिहरु छुटेको र उनीहरुलाई आगामी कार्यक्रममा वितरण गरिने बताइन् । 

प्रदेश सरकार, धरान उपमहानगरपालिका र करुणा फाण्डेसनको संयुक्त साझेदारीमा सञ्चालनमा ल्याएको कार्यक्रमको सम्झौता ३ वर्षको रहेको छ । वार्षिकरुपमा ७२ लाख रुपैयाँ बजेट छुट्याएर यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । कार्यक्रमको एक वर्ष सकिएको छ । गत चैत २१ गतेदेखि वैशाख २० गतेसम्म धरानका १२ स्थानमा केन्द्र तोकेर अशक्त व्यक्तिहरुको स्वास्थ्य शिविर गरिएको थियो । धरानमा लगभग ११ सयदेखि १२ सयको हाराहारीमा अशक्त व्यक्तिहरु रहेका छन् । उनीहरुलाई ४ वर्गमा विभाजन गरेर कार्ड वितरण गरिएको छ ।