धरान: एकै परिवारको ६ जना सदस्यको विभत्स हत्या गरेको घटनाको अनुसन्धानमा जुटेको प्रहरीले शव पोष्टमार्टमको लागि धरान पठाएको छ ।

प्रहरीको सिआइबी, प्रदेश र जिल्लाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरिसकेको छ भने घटना प्रकृतिको मुचुल्का उठाएर शव पोष्टमार्टमको लागि धरान पठाइएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । आज बिहानदेखि धरानस्थित संघीय प्रहरी ईकाई कार्यालयको तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धानमा जुटिसकेको प्रजिअ पौडेलले बताए । ‘घटना प्रकृतिको मुचुल्का उठाएर शवलाई पोष्टमार्टम गर्न धरान पठाइसकिएको छ,’प्रजिअ पौडेलले भने ।

सोमबार बिहान संखुवासभाको मादी नगरपालिका १, उम्लिङको खोला गाउँका ८४ बर्षीया पार्वता कार्की, उनको छोरा ५२ बर्षीया तेजकुमार, ५० बर्षीया बुहारी कमला, २५ बर्षीया नातिनी बुहारी रञ्जना, पनाती ९ बर्षीय दिपेन कार्की र पनातिनी ७ बर्षीय गोमाका विभत्स अवस्थामा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उनीहरुको शवको अवस्था हेर्दा खेदी खेदी धारिलो हतियारले हत्या गरेको देखिन्छ । 

उक्त दिन घरमा भएकामध्ये घरमुली ८० बर्षीया बौद्धमान कार्की मात्र जिवित रहेका छन् । प्रजिअ पौडेलले भने,‘अत्यन्तै विभत्स अवस्थामा हत्या भएको देखिन्छ । घटना कस्ले, किन र कसरी गराएको भनेर गम्भीररुपमा अनुसन्धान भइरहेको छ,’उनले भने ।