धरान: संखुवासभाको मादी नगरपालिका १ मा एकै परिवारको ६ जनाको हत्याको आरोपमा आफन्त पर्नेलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई भोली सार्वजनिक गर्ने प्रहरीको तयारी छ । 

पक्राउ पर्ने २६ बर्षीय लोकबहादुर कार्की हुन् । उनको घर मृतकहरुको घरदेखि करिब एक सय मिटर दुरीमा छ । उनले हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । लोकबहादुरले सोमबार बिहानै परिवारकै हत्या गरेका थिए । उनले प्रहरीसमक्ष तेजबहादुरको मात्र हत्या गर्न चाहे पनि परिवारका अन्यले पनि देखेपछि उनीहरुको पनि हत्या गरेको वयान दिएका छन् । 

सोमबार ८४ बर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको हत्या भएको थियो । घरमा रहेका वृद्ध बुद्धमान कार्की मात्र बचेका थिए । प्रहरीका अनुसार तेजबहादुरसँगको रिसमा लोकबहादुरले उनलाई मार्न खोजेका थिए । तेजबहादुरले आफुलाई 'हेपेको' महसुस गरेका लोकबहादुरले उनलाई सोमबार बिहान खेताला खोज्न घरबाट निस्केको बेला बाटोमा कुरेर आक्रमण गरेको प्रहरीको भनाई छ ।

तेजबहादुरलाई हत्या गरेको उनकी पत्नी कमला र बुहारी रञ्जनाले देखेपछि घटनास्थलतर्फ गएका थिए । उनीहरुलाई पनि लोकबहादुर हिर्काएकार मारेका थिए । हत्यामा ह्यामरको प्रयोग भएको बताइएको  छ। ८ बर्षका विपिन र ५ बर्षकी गोमाले पनि हत्या गरेको देखेपछि उनीहरुलाई पनि लोकबहादुरले खेदाएर हत्या गरेको बताइएको छ । घरबाहिर सबैको हत्या गरिसके पछि घरभित्र पसेर ८४ बर्षीया वृद्धा पार्वतीको पनि हत्या गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताएका छन् । 

हत्या आरोपमा पक्राउ परेका लोकबहादुरमा मानसिक समस्या छ भने उनी औषधीसमेत सेवन गरिरहेको बताइएको छ । उनको घरमा रगत लागेको कपडा वरामद भएपछि शंकाको घेरामा थिए । घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), धरानस्थित संघीय प्रहरी ईकाई कार्यालय, प्रदेश प्रहरी र जिल्ला प्रहरीको टोलीले घटनास्थलमा छ भने प्रदेश प्रहरी प्रमुख डिआइजी आफै पनि घटनास्थलमा छन् ।