धरान: इटहरीका एक वडाअध्यक्षलाई धम्की दिएर पैसा माग्ने पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी वडा नं १९ का वडाअध्यक्ष नारायण चौधरीलाई फोन गरि धम्की दिने र २० लाख माग गर्ने पक्राउ परेका हुन् । पक्राउ पर्ने झापाको दमक वडा नं १ का २४ बर्षीय पुण्यबहादुर श्रेष्ठ रहेका छन् । उनले असार १३ गते दिउँसो वडाअध्यक्ष चौधरीलाई फोन गरेर गालीगलौज गरेका थिए भने धम्की दिदै २० लाख समेत मागेका थिए । उक्त घटना पछि श्रेष्ठ फरार थिए । 

उनलाई खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय दमकको सहयोगमा गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उनलाई प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४ वमोजिम अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ । साथै, जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ७ दिनको म्याद थप गरि कानुनी प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।