धरान: विभिन्न घटनाका पीडितहरुलाई सुरक्षित अनुभूति दिलाउन तथा पीडक पक्षबाट अनावश्यक दबाब आउन नदिन मोरङ प्रहरीले पीडित पुनः भेटघाट कार्यक्रम शुरुवात गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतको प्रहरीले शुक्रबारदेखि पीडित पुनः भेटघाट कार्यक्रम शुरुवात गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जि.सी.सहितको टोलीले गएको २०४२ सालको भदौ १८ गते भएको खुन डाँका मुद्दाका पीडित विराटनगर ३ का ८५ बर्षीय धर्मध्वज थापा क्षेत्रीसँग भेट गरेर यो कार्यक्रमको शुरुवात गरेका हुन् । प्रहरीका अनुसार उक्त घटनामा संलग्न रहेका कटहरी गाउँपालिका ७ तकियाका ८७ बर्षीय उजारु चौधरी थारु र ५० बर्षीय शिवना सरदार वातरलाइ ३५ बर्ष पछि भदौ ९ गते पक्राउ गरिएको थियो । यसबारेमा जानकारी गराउदा पीडित थापाले लामो समयपछि न्याय पाएको भन्दै खुशी व्यक्त गरेको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । 

police1

मोरङ प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय रानी, रंगेली, सिजुवा, उर्लाबारी, पथरी, लेटाङ र बेलाबारीले समेत पीडित पुनः भेटघाट कार्यक्रमको शुरुवात गरेको थियो । यो कार्यक्रम अन्तर्गत पीडित प्रहरीहरुले घरमा नै पुगेर प्रत्यक्ष भेटघाट गर्ने, कानुनी परामर्श दिने, प्रक्रियाबारे जानकारी गराउने गरिएको छ भने पीडकलाई कानुनी कारबाहीबारे जानकारी पाउदा पीडित पक्षले खुशी तथा राहत महशुस गरेको डिएसपी श्रेष्ठले बताए । 

पीडित पक्षलाई हुने दबाब, प्रभाव तथा हस्तक्षेप रोक्न साथै सुरक्षाको अनुभूति भई आत्मवल वृद्धि गर्न यो अभियान प्रभावकारी हुने मोरङ प्रहरी प्रहरीको अपेक्षा छ । नेपालको संविधान २०७२ को धारा २१ र अपराध पीडित संरक्षण ए्न २०७५ को परिच्छेद २ मा व्यवस्था भए अनुसार अनुसन्धान सम्बन्धी सुचनाको अधिकार, न्यायिक कारबाही सम्बन्धि सुचनाको अधिकार, क्षतिपूर्ति तथा सामाजिक पुनःस्थापनाको अधिकार, दण्डहिनताको अवस्था सृर्जना हुन नदिन र पीडित न्याय प्रणाली कायम राख्न पीडितसँग सम्पर्कमा रहेर कानुन वमोजिम सहयोग गर्न आवश्यक देखिएको कारण यो कार्यक्रम शुरुवात गरिएको मोरङ प्रहरी प्रमुख जिसीको भनाई छ ।