धरान: प्रत्येक सोमबार बिहान धरानमा हिड्दै बाटो तथा मठमन्दिरलगायत महत्वपुर्ण क्षेत्रहरुमा सरसफाई गर्दै एक समुह हिड्ने गर्छ । यसरी हिडन् थालेको बर्ष दिन पुग्न लाग्यो ।

बिहान ७ बजेदेखि ८ बजेसम्म सडक, ड्रेनलगायत सार्वजनिकस्थलमा हिड्ने र सफाई गर्दै फोहोर टिप्ने अभियान वाकिङ विथ क्लिनिङ आज (सोमबार) ५० हप्ता पुरा भएको छ । यसअवसरमा आयोजक सेवक अभियानले धरान उपमहानगरपालिकामा कार्यरत २ जना सरसफाईकर्मीलाई सम्मान पनि गरेको थियो । सम्मानित हुनेमा मानबहादुर परियार र बालकुमारी सुनार रहेका छन् । उनीहरुलाई धरान १ सिंहदेवी चोकमा सरसफाई कार्यक्रम शुरु हुनुअघि संक्षिप्त औपचारिक कार्यक्रम आयोजना गरेर सम्मान गरिएको थियो । धरान उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले दुवै जनालाई खादा ओढाएर सम्मान गरेकी थिइन् ।

cleaking3

मानबहादुर धरान उपमहानगरमा विगत ३३ बर्षदेखि सरसफाईकर्मीकोरुपमा कार्यरत छन् भने बालकुमारी २३ बर्षदेखि कार्यरत छन् । उनीहरुको योगदानलाई कदर गर्दै सम्मान गरिएको सेवक अभियानका अध्यक्ष राजिव हलवाईले बताए । कार्यवाहक प्रमुख भण्डारीले धरानलाई सफा, स्वच्छ राख्ने अभियानको प्रशंसा गरेकी थिइन् । उपप्रमुख भण्डारीले झाडु लगाएर ५० हप्ताको सफाई अभियानको उद्घाटन गरेकी थिइन् । अभियानकर्मीहरुले सिंहदेवी चोकदेखि २ धारेसम्मको सडक, ड्रेन सफाई गरेका थिए ।

cleaking2

गत बर्ष २०७७ असोज २२ गते विश्व दृष्टि दिवसको अवसर पारेर वाकिङ विथ क्लिनिङ शुरुवात गरिएको थियो । त्यसभन्दा अघि सेवक अभियानले नै स्वास्थ्यको लागि पदयात्रा कार्यक्रम शुरुवात गरेको थियो । पर्यटकीय क्षेत्र घुम्ने क्रममा धेरै फोहोर देखिएकोले वातावरण सफा, सुग्घर राख्नको लागि वाकिङ विथ क्लिनिङ अभियान पनि शुरुवात गरिएको हलवाईले बताए । ‘’ धरानलाई सफा, स्वच्छ बनाउने उद्देश्य हो, प्रत्येक सोमबार बिहान ७ देखि ८ बजेसम्म १ घण्टा मात्र हुन्छ,’हलवाईले भने,‘पानीको मुहान, खत्री धारा, मठमन्दिर, सार्वजनिक विद्यालयहरुमा सफा गरिरहेका छौं । पुरा वातावरण त सफा नहोला तर चेतना फैलाउन मद्दत गर्छ । अभियान पछि केही परिवर्तन पायौ ।’

धरानका मठमन्दिरहरुमा धेरै फोहोर भेटिएको भन्दै हलवाईले बजार क्षेत्र मात्र सफा गरेर नहुने बताए । उनले भने,‘बजारमा मात्र सफा गरेर हुदैन, पर्यटक आउने ठाउँहरु पनि सफा गर्नुपर्छ । मठमन्दिर क्षेत्रमा धेरै फोहोर पायौं । नगरपालिकालाई आग्रह छ, त्यसक्षेत्रमा डम्पिंग साइट बनाइदिनुपर्यो । त्यहाँ भएको फोहोर व्यवस्थितरुपमा उठाइ पनि दिनुपर्यो ।'

cleaking1cleaking5cleaking