झापा: झापाको झापा गाँउपालिका १ माईती घर भएकी भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतकी ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका(१ का ३७ बर्षीय लखन टुडु सतार, ५६ बर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ बर्षीय श्री हेमरम सतार रहेका छन् । गत भदौ २५ गते झापा गाउँपालिका १ मा पर्ने सानो माईखोलामा महिलाको शव विभत्स अवस्थामा भेटिएको थियो । तत्काल पहिचान खुल्न नसकेको महिलाको अर्ध शरीर भएको टाँउको, घाटी, पेट (कम्मर भन्दा माथिको भाग) तथा घुडा भन्दा मुनीको भाग नभएको अवस्थामा लाश फेला परेको थियो । 

उक्त शव भेटिए पछि जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट प्रहरी टोली खटिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा उक्त अर्ध शरीरको लाश ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको रहेको खुलेको थियो । लाशको पहिचान खुलेसंगै थप अनुसन्धानमा जुटेको प्रहरीले उनको हत्या गरेको पुष्टी गरेको थियो । साथै, उनको हत्यामा संलग्न चारै जनालाई असोज १ गते पक्राउ गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ परेकाहरुलाई बुधबार पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ । पक्राउ परेकाहरु मृतक धोन्नीको आफन्तहरु हुन् । उनीहरुबीचमा जग्गाको बिषयमा विवाद हुदै आएको खुलेको थियो । सोही क्रममा भदौ २५ गते चारै जना मिलेर धोन्नी टुडुलाई माईखोला किनारमा लगेर शरीरको बिभिन्न भागमा काटेर टुक्रा टुक्रा पारेर खोलामा फालेको अनुसन्धानबाट खुलेको झापा प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनामाथि कर्तब्य ज्यान मुद्दामा कानुनी कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।