धरानः अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार धरानमा ज्येष्ठ नागरिकहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने क्रममा धरानका ज्येष्ठ नागरिकहरुले प्रतिभा प्रस्तुत गरेका हुन् ।

धरान उपमहानगरपालिकाको सामाजिक महाशाखाले आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकहरुले गायन, नृत्य, नौमती बाजा, मादल, बिनायो, साकेला नाच प्रस्तुत गरेका थिए । प्रतिभा प्रस्तुत गर्ने ज्येष्ठ नागरिकहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले माला लगाएर छाता वितरण गरेका थिए । मेयर राईले शुभकामना व्यक्त गदै ज्येष्ठ नागरिकमा रहेका विषयगत ज्ञान, सीप, क्षमता र अनुभवको अधिकतम सदुपयोग गर्ने नीति बनाएर कार्यान्वयन गर्ने धारणा राखे । यसले ज्येष्ठ नागरिकहरू सामाजिक तथा आर्थिक रूपमा बोझ नभई वरदान सावित हुने मेयर राईको भनाई थियो ।

ज्येष्ठ नागरिकको ज्ञान, सीप, क्षमता र अनुभव वर्तमान र भावी पुस्ताको लागि पनि ठूलो प्रेरणाको स्रोत बन्न सक्ने मेयर राईले बताए । उनले बर्षमा एक पटक मात्र सम्झिने नभै २, ३ महिनाको अन्तरालमा कार्यक्रमहरु व्यवस्थित गरेर ज्येष्ठ नागरिकहरुसँग भेटघाट गर्ने, अनुभवहरु साटासाट गर्ने, भलाकुसारी गर्ने पनि बताए ।

सामाजिक शाखाकी प्रमुख प्रज्ञादेवी निरौलाले धरानका २० वटै वडामा ज्येष्ठ नागरिक समिति गठन गरिएको जानकारी दिइन् । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि उपमहानगरपालिकाले कार्यक्रमको आयोजना गरेको उनले बताइन् । कार्यक्रममा ज्येष्ठ नागरिकहरुले राज्यले ज्येष्ठ नागरिकहरुलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । धरान वडा नं. १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले, वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, ज्येष्ठ नागरिक मिलन केन्द्र धरानका सभापति सरला कायस्थ, ज्येष्ठ नागरिक मिलन केन्द्रका उपसभापति कुमार ब. कार्की लगायतले सम्बोधन गरेका थिए ।