धरान:  आज बिहान धरानको भानुचोकमा प्रहरी ठुलो संख्यामा परिचालित भए । प्रहरीको संख्या हेर्दा कुनै घटना भएको पो हो कि भन्ने आभास हुन्थ्यो । प्रहरीले मोटरसाइकल, पैदल, चारपांग्रे गाडीलाई पनि बेला बेला रोक्थे । 

खासमा कुनै घटना भएर वा अपराधीलाई समात्न प्रहरी परिचालित गरिएको थिएन । प्रहरीहरुले मास्क विना मोटरसाइकल, पैदल वा चारपांग्रे गाडीमा हिडेका चालक तथा यात्रुहरुलाई रोकेर मास्क वितरण गरिरहेका थिए । प्रहरीले रोक्दा चालक तथा यात्रुहरु झस्कन्थे, तर मास्क दिएपछि खुशी हुदै गन्तव्यतिर लाग्थे ।

mask3

६६ औं प्रहरी दिवसको अवसरमा संघीय प्रहरी ईकाई कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानले तपाईको मास्क खै ? कार्यक्रम आयोजना गरेको थियो । कोरोना संक्रमण पुर्णरुपमा नियन्त्रणमा नआएपनि सर्वसाधारणहरु मास्कविना हिडडुल गरेर जोखिम निम्त्याउन थालेकोले सचेतना कार्यक्रम आयोजना गरिएको संघीय प्रहरी ईकाई कार्यालयका एसपी भिम दाहालले बताए । 

उनका अनुसार स्वास्थ्य मापदण्डमा लापरवाही भइरहेको, भिडभाडमा मास्क नलगाउने, दुरी कायम नगर्ने र सेनिटाइजर पनि प्रयोग नगर्ने देखिएकोले तपाईको मास्क खै ? अभियान आयोजना गरिएको हो । ‘प्रहरीले सम्झाउदै मास्क पनि दिइरहेका छौ, कतिपयले गोजीमा मास्क बोकेर हिड्ने र प्रहरी देखेपछि मात्र लगाउने गरेको पनि देखियो,’एसपी दाहालले भने ।

mask1

प्रहरी दिवसको अवसरमा हिजो शनिबार मठमन्दिर, मदरसा, गुम्बाहरुको सरसफाई गरिएको एसपी दाहालले जानकारी दिए । यस्तै, आज बिहानै एक प्रहरीले एक विरुवा रोप्ने कार्यक्रम पनि गरिएको उनले बताए ।

 

mask5

mask4

mask2