धरान: श्रीमान र बच्चालाई पनि झापा घरमा नै छोडेर धरानको वडा नं ६ पानवारीस्थित माइतीमा बसिरहेकी एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् । 

हिजो राती करिब ७ बजेतिर मनिषा मगरले माइतीघरमा नै आत्महत्या गरेकी हुन् । उनले आत्महत्या गरेपछि पानवारीमा आज तनावग्रस्त भएको थियो । मृतकले आफ्नो समस्या लिएर वडाअध्यक्ष र प्रहरी समक्षमा पुगेपनि वेवास्ता गरिदिए पछि आत्महत्या गर्न पुगेको भन्दै आफन्तजन र स्थानीयले जनप्रतिनिधिमाथि घेराउ र आक्रोश पोखेका छन् । 

ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले श्रीमान् छोडेर माइती बसिरहेकी महिलाले आत्महत्या गरेको बताए । उनको शव आज मुचुल्का उठाएर पोष्टमार्टम गर्न वीपी प्रतिष्ठान पठाएको पनि उनले जानकारी दिए । 

आत्महत्याको कारण यस्तो छ

 स्थानीयका अनुसार मनिषाको झापामा विवाह भएको थियो । उनको करिब ७ बर्षका एक छोरा पनि छन् । विवाह भएपनि मनिषाको पानवारीकै बस्नेत थरका एक युवासँग प्रेम थियो । ती युवाले श्रीमान् छोडेर आए स्वीकार गर्ने भनेपछि मनिषाले करिब ३ बर्षअघि फर्केर माइती आएकी थिइन् । त्यसपछि उनी श्रीमानको घर नगएको र छोरा भने झापामा श्रीमानसँगै रहेको स्थानीय निशा थापाले जानकारी दिइन् ।

उनका अनुसार माइती आएपछि मनिषा काठमाण्डौंमा काम गर्दै बसेका थिए । उनका प्रेमी विदेशमा थिए । उनले नै मनिषालाई खर्च दिएर काठमाण्डौंमा राखेका थिए । ‘घरमा भित्र्याउन मात्र बाँकी थियो, विदेशबाट आउदा जादा उनीहरु सँगै बस्थे,’नाताले मनिषाको दिदी पर्ने निशाले भनिन्,‘यसपाली केटा विदेशबाट घर आएर सोमबार म अर्के केटी भगाउदैछु भनेछ । त्यसपछि शुक्रबार नै मनिषा धरान आएर केटा भेट्न खोज्दा कतै भेटेन । वडाअध्यक्ष, प्रहरीमा जादा पनि केही नलागेपछि हिजो राती झुण्डिएछ ।’

निशाका अनुसार शनिबार बिहानैदेखि मनिषाले केटाको घर, वडाअध्यक्ष भुवनसिंह बस्नेत, प्रहरी चौकीलगायत गाउँका थुप्रैलाई भेटेका थिए । उनले सबैलाई केटा झिकाएर छलफल गराइदिनु मात्र माग गरेकी थिइन् । ‘कसैले पनि उसको कुरा सुनुवाई गरेन । कतिले उल्टै गाली गरेर पठाइदिएछ,’निशाले भनिन्,‘कोहीबाट सुनुवाई नभएपछि राति झुण्डिएछ ।’

प्रेमी भनिएका युवा पक्राउ

मृतक मनिषाको प्रेमी भनिएका युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आज नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । मृतक पक्षले ती युवा र मनिषाबीचमा प्रेम सम्बन्ध रहेको र अन्तिममा धोका दिने भएपछि तनावमा आएर मनिषाले आत्महत्याको बाटो रोजेको दाबी गरिरहेका छन् ।

‘मनिषा विवाहित महिला रहेछन्, एउटा छोरा पनि रहेछ । तर, २, ३ बर्षदेखि माइती आएर बसेको र अविवाहित केटासँग अफेयर भएको भन्ने छ,’डिएसपी कुँवरले भने,‘हामीले अनुसन्धानको लागि एक जना नियन्त्रणमा लिएका छौ, तथ्य प्रमाणहरु के भेटिन्छ हेरौ ।’