धरान: सुनसरी जिल्ला अदालतबाट वैदेशिक रोजगारमा ठगी गरेको मुद्दामा कैद र जरिवाना फैसला भएपनि हालसम्म फरार रहेका धरानका एक व्यक्ति पक्राउ परेका छन् । 

प्रहरीका अनुसार धरान ९ घर भई हाल धरान ७ बस्दै आएका ३४ बर्षीय रविन बोगटी पक्राउ परेका हुन् । उनलाई सुनसरी जिल्ला अदालतले ३ बर्ष कैद र ३ लाख रुपैया जरिवानाको फैसला सुनाएको थियो । अदालतले २०७२ चैत १ गते वैदेशिक रोजगार ठगी मुद्दामा फैसला सुनाए पनि बोगटी भने फरार थिए । उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयको आरआइटी समुहको टोलीले पक्राउ गरि अदालतमा दाखिला गरेको थियो । सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी बोगटीलाई कारागार चलान गरिसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

यसैगरि, केही सार्वजनिक अपराध मुद्दा र चोरी मुद्दामा मोरङ जिल्ला अदालतले विराटनगर ८ का ३४ बर्षीय अजय रायलाई जरिवाना र कैद सजाय फैसाल सुनाएको थियो । प्रहरीका अनुसार सार्वजनिक अपराधमा अदालतले २०७२ चैत ११ गते २ हजार जरिवानाको फैसला गरेको थियो भने नकवजनी चोरी मुद्दामा २०६८ भदौ २९ गते १ महिना २  दिन  कैद तथा ६ हजार जरिवाना गरेको थियो । तर, राय भने कैद जरिवाना भुक्तान नगरि फरार सुचीमा रहेका थिए । उनलाई पक्राउ गरि अदालतमा दाखिला गरेर कैद भुक्तानको लागी कारागार चलान गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।