सुनसरी: इटहरीमा एक महिला सामुहिक बलात्कारको शिकार भएकी छिन् । 

प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका वडा नं ८ भुर्की भन्ने स्थानमा इटहरी ९ की एक महिलालाई करिब साँझ ७ बजे ६ जनाले जर्बजस्ती करणी गरेको हो । ती महिलालाई ६ जनाले कुटपिटसमेत गरेर नजिकैको धान खेतमा लगेर करणी गरेको र लुटपाटसमेत गरेको प्रहरीले जनाएको छ । महिलाले लगाएको २ तोला चार आनाको सुनको सिक्री र साथमा रहेको ३ हजारसमेत लुटेर लगेका थिए । पीडितले उजुरी दिएपछि प्रहरी घटनाको अनुसन्धानमा खटिएको थियो । 

सोही क्रममा पीडित महिलाको हुलियाको आधारमा प्रहरीले घटनामा संलग्न ४ जना र गोमन भन्ने सुनिल चौधरीलाई शनिबार बिहान उनको घर इटहरी १४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका मध्ये ४ जना १८ बर्षमुनिका नाबालक रहेका छन् । एक जना भने अझै फरार छन् । पक्राउ परेकाहरुविरुद्ध जिल्ला अदालतबाट जर्बजस्ती करणी सम्बन्धी कसुरमा ५ दिन म्याद थप भएको र अनुसन्धान कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।