धरान: साढे ३३ किलो सुन तस्करी प्रकरणमा सनम शाक्यको हत्यामा संलग्न गोरे भनिएका चुडामणी उप्रेतीसहित ६ जनालाई जन्मकैद भएको छ । 

मोरङ जिल्ला अदालतले गोरेसहित ६ जनालाई कर्तव्य ज्यानतर्फ आज दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएको हो । न्यायाधीश भरत लम्सालको इजलासले यस्तो फैसला सुनाएको स्रेस्तेदार टिकेन्द्रवीरजङ राणाले जानकारी दिएका छन् । जन्मकैद सजाय पाउनेमा गोरे, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् । यस्तै, हत्यामा संलग्न ठहरिएका राजन कुमारलाई ३ बर्ष र मदनप्रसाद घिमिरेलई ६ महिना कैद सजाय पनि अदालतले सुनएको छ । अन्य ५६ जनाले भने सफाइ पाएका छन्। 

मुद्दाको मुख्य प्रतिवादीकोरुपमा गोरेसहित ७७ जना थिए । ती मध्ये २१ जना फरार छन्। उनीहरुको मुद्दालाई मुलतवीमा राखिएको छ। मोरङ प्रहरीले २०७५ वैशाख १९ गते उनीहरुविरुद्ध अपराधिक समुह बनाएर सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरिर बन्धक र कर्तव्य ज्यान मुद्दामा मोरंग जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । अभियोग पत्रमा प्रहरीले १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो ।

२०७४ माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन गायब भएको थियो । उक्त  तस्करीमा भरियाकोरुपमा काम गर्ने सनम शाक्यको हत्या भएको थियो । सुन बीचैमा हराएपछि गोरेसहितको टोलीले सनमलाई यातना दिएर हत्या गरेका थिए । उक्त परिमाणको सुन कहाँ पुग्यो भन्ने अझै रहस्यमै छ ।

यो प्रकरणमा नेपाल प्रहरीका उच्च अधिकारीहरुले घटना ढाकछोप गरेको भन्दै आरोप लागेपछि निलम्बनमा परेका थिए । तर उनीहरुले अनुसन्धानको लागि अपराधीहरुलाई ट्रयापमा पार्न गरेको फोन वार्तालापको आधारमा कारबाही भएको भन्दै प्रहरीभित्रैबाट विरोधसमेत भएको थियो । यो मुद्दामा नेपाल प्रहरीका डिआइजी दिवेश लोहनी, सई बालकृष्ण सञ्जेलसहितका वहालवाला प्रहरी र अवकाश पाएका अन्य सबै प्रहरी अधिकारीहरुलाई पनि सफाई दिएको  छ।