धरानः धरान उपमहानगरपालिकाले टोल विकास संस्था(टीएलओ)हरुलाई कानुन सम्बन्धी दुई दिने सचेतना कार्यक्रमको आयोजना गरेको छ । 

उपमहानगरपालिकाको न्यायिक समितिको आयोजनामा मङ्गलबारदेखि टीएलओ सचेतना कार्यक्रम सुरु गरेको हो । कार्यक्रम धरान १ स्थित उद्योग वाणिज्य संघको हलमा भइरहेको छ । पहिलो दिन धरानका वडा नं. १ देखि वडा नं. १३ सम्मका टीएलओका संयोजक तथा प्रतिनिधिहरु कार्यक्रममा सहभागी भएका थिए । बुधबार वडा नं. १४ देखि वडा नं. २० सम्मका टिएलओका संयोजक तथा प्रतिनिधिहरुलाई सचेतना कार्यक्रम दिईने न्यायिक समितिले जनाएको छ । 

कार्यक्रम उद्घाटनमा प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले कानुन कार्यान्वयन गर्नको लागि आम नागरिकहरुलाई बुझाउन आवश्यक भएको बताए । नागरिकहरुलाई कानुन सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु गरेर बुझाउनु स्थानीय सरकारको दायित्व रहेको पनि मेयर राईको भनाई थियो । टिएलओमा आएका विभिन्न घटना एवं मुद्दाहरुलाई सहीढंगबाट मिलाउन सक्नुपर्ने पनि मेयर राइको भनाई थियो । त्यसैको लागि क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको उनले बताए ।

उपमहाानगरका कानुनी सल्लाहकार अवईन्द्र निरौलाले वडा, नगरपालिका, न्यायिक समितिको काम कर्तव्य के हो ? भन्ने कुरामा जानकार हुन आवश्यक रहेको बताए। कानुनी सल्लाहकार जनार्दन कोईरालाले दुई दिनको अवधिमा टिएलओका संयोजक तथा प्रतिनिधिहरुलाई कानुनको परिचय, कानुन निर्माणको प्रक्रियामा सहजिकरण गरिने जानकारी दिए । यस्तै, कार्यपालिकाकी सदस्य एवं न्यायिक समिति सदस्य विनिता बज्राचार्यले टिएलओले ल्याएको सल्लाह, सुझावहरुलाई लिएर न्यायिक समितिले काम गरिरहेको जानकारी दिइन् ।