धरान: नेपालीहरूको महान् चाड बडादशैंको आज दशौं दिन विजयादशी । बोलीचालीको भाषामा टीका पनि भन्ने गरिन्छ । 

आज अभिभावक तथा मान्यजनहरुबाट टीका र जमरा लगाएर आर्शिवाद थापी हर्षोल्लासका साथ विजयादशी मनाइँदैछ। आज टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको छ । 

टीकामा समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ। घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । आदिवासी जनजातिका केही जातिहरुले भने आज सेतो अक्षताको टीका पनि लगाउछन् । 

 मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ ।