पाँचथर: पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६१ जना घाईते भएका छन् ।

 आज सोमबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट करिब २० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा परि बसमा सवार लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्रज्वल मगरको पाथीभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने ईलामका ३४ बर्षीया प्रमीला देवानको जिल्ला अस्पताल, उनको ७ महिने छोरा निश्चल देवान र एक जना पहिचान हुन नसकेको महिलाको समर्पित अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

सो दुर्घटनामा बसका चालक सहित ६१ जना घाइते भएका छन् । गम्भीर घाईते भएका ११ जनालाई थप उपचारको लागी झापा पठाएको र अन्य घाईतेहरुको फिदिमको बिभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।