धरान: यसबर्षको नेपालीहरुको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात तिहार आजदेखि शुरु भएको छ । 

आज एकै दिन काग तिहार र कुकुर तिहार परेको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ।आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खानेकुरा दिएर मनाइन्छ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने धर्मशास्त्र विद्धानहरुको भनाई छ ।

आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि र त्यसपछि चतुर्दशी तिथि शुरु हुन्छ। यमराजले कागको माध्यमबाट लोकको खबर थाहा पाउने भएकोले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर मीठो मीठो खानेकुरा दिएर खुसी पार्ने गरिएको हो। 

यस्तै, यमपञ्चकको आजै कुकुर पूजा पनि गरिन्छ । घरको सुरक्षा गर्ने कुकुरलाई मीठो खानेकुरा दिइन्छ । आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने र त्यसपछि कुकुरको पूजा गर्नुपर्नेहुन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ।