धरान: सुनसरीमा राती १० बजेसम्म मात्र तिहारको देउसी भैलो खेल्न पाइने भएको छ। 

जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार एक अपिल जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरि देउसी, भैलो, नाचगानलगायत राती १० बजेसम्म मात्र शान्तिपुर्णरुपमा सञ्चालन गर्न आग्रह गरेको छ । अनुरोध पालना नभए कानुन वमोजिम कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ । 

प्रजिअ इन्द्रदेव यादवद्धारा जारी अपिलमा पटका, अतिसवाजी, झिरझिरे, भुईचम्पाजस्ता विष्फोटक पदार्थ प्रयोग नगर्न र निकासी, ओसारपसार वा बिक्रीवितरण नगर्न पनि आग्रह गरेको छ । देउसी भैलो कार्यक्रमहरु सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरि मर्यादित र अनुशासितरुपमा सञ्चालन गर्न पनि प्रशासनले आग्रह गरेको छ । यस्तै, भीडभाडजन्य गतिविधि गरि समाजमा अशान्ति एवं अशोभनिय क्रियाकलापजन्य कार्यहरु नगर्न पनि प्रशासनको आग्रह छ । 

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर प्रशासनबाट राती १० बजेसम्म भद्र, साँस्कृतिक मौलिकता झल्ने देउसीलाई मात्र अनुमति दिइएको र सोही निर्देशन अनुसार पालाना गराउन आफुहरु प्रतिवद्ध भएको बताए । उनले भने,‘राती १० बजेसम्म मात्र देउसी, भैलो खेल्न दिने भन्ने आदेश छ, हामी यो आदेशको पुर्णपालना गराउछौ ।’

cdo-notice