धरान: आज तिहारको पाँचौँ दिन भाइटीका मनाइदैछ । आजको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाउछन् । 

तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ। 

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको छ । यद्यपी, टीका आज दिनभर लगाउन कुनै बाधा हुदैन । यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाँहिने पार्नु पर्ने शास्त्रीय नियम छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने चलन छ भने दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।