धरान: धरान उपमहानगरपालिका क्षेत्रका बाढी पहिरो प्रभावित भएका परिवार, अपांगता तथा अशक्त एवं अन्यसँग आश्रित भएका वृद्धवृद्धाहरुलाई पोषिलो खाद्यान्न सामग्री खरिदको लागि आर्थिक सहयोग गरिएको छ । 

काठमाण्डौंको टेवा नामक संस्थाको पहलमा, सामाना नेपालसँगको साझेदार र  डब्लुएचडिआरआरपि, आइजिएफएफ, डब्लुएफडिएमको सहयोगमा नगद वितरण गरिएको हो । धरान १५ स्थित शिक्षा सदन माविमा आयोजित नगद सहयोग कार्यक्रम धरान उपमहानगरपालिका र नेपाल सरकारसँगको समन्वयमा गरिएको साझेदार संस्थान सामना नेपाल सुनसरीकी अध्यक्ष चेतना सेरेङले जानकारी दिइन् । 

donation1

महिला सञ्जाल धरान उपमहानगर समितिकी अध्यक्षसमेत रहेकी सेरेङका अनुसार धरानको विभिन्न वडाका ७५ घरधुरीलाई प्रतिघर ७ हजार ५ सयको दरले नगद सहयोग गरिएको हो । बाढी पहिरो प्रभावित भएका घरधुरी, अपांगता तथा अशक्त भएर घरमा बस्ने, अरुमा आश्रित वृद्धवृद्धा, छोराछोरी जेलमा भएका वृद्धवृद्धालगायत परिवार छनौट गरेर सहयोग गरिएको उनले जानकारी दिइन् । ‘बाढी पहिरो प्रभावित, अपांगता, अशक्त भएर घरमा नै बस्ने, एकल, आगोले घर जलेर केही पनि नभएको परिवार, छोराछोरी जेलमा भएर पाल्न नसक्ने आमाबुबा, काम गर्न नसक्ने वृद्धवृद्धाहरु छनौट गरेर सहयोग गरिएको छ,’ उनले भनिन् ।

donation3

सामना नेपालका अनुसार धरानको वडा नं १५ का ४ परिवार, वडा नं १३ का ५, वडा नं ८ का ३३ परिवार, वडा नं १७ का ४, वडा ११ का ३, वडा ५ का ८, वडा ६ का ५, वडा ३ का ४ र वडा नं १६ का ८ परिवारलाई नगद सहयोग गरिएको छ । सामना नेपाली अध्यक्ष सेरेङको अध्यक्षतामा आयोजित नगद वितरण कार्यक्रम प्रदेश १ की सांसद सावित्री श्रेष्ठ जोशीको प्रमुख आतिथ्य र धरान उपमहानगरको सामाजिक विकास शाखाकी गंगादेवी खापुङको बिशेष आतिथ्यमा भएको थियो । 

यस्तै, कार्यक्रममा वडा नं १५ का कार्यवाहक वडा अध्यक्ष ज्ञानेन्द्र बस्नेत, माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघा, महिला सञ्जालकी निवर्तमान अध्यक्ष सविता राई, पुर्वअध्यक्ष शिला बज्रचार्यलगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शारदा मास्केले गरेकी थिइन् । 

donation2